काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै छ ।
बैठक सोमबार (आज) दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।
नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले २६१ जनालाई बैठकमा बोलाइएको र उनीहरुलाई बैठकका एजेण्डाबारे पनि जानकारी गराइएको बताउनुभयो ।
सो बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशनको तयारी, उपनिर्वाचनको तयारीलगायतका विषयमा छलफल हुने छ ।
यद्यपि कमिटीको वैधानिकतामा प्रश्न उठाउँदै आएको झलनाथ खनाल र माधव नेपाल पक्षका नेताहरुले बैठकमा सहभागी नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमालेका नेता डा.भीम रावलले पार्टी अध्यक्ष ओलीले सोमबार (आज)का लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकलाई अवैध भन्नुभएको छ ।
एमालेको नवौं महाधिवेशन मान्ने जो कोहिले ओलीले बोलाएको बैठक बहिष्कार गर्ने दावी गर्दै उहाँले अवैध बैठकमा आफू सहभागी नहुने जानकारी दिनुभएको छ ।
यसैबीच, एमाले अनुशासन कमिटीका अध्यक्ष अमृतकुमार यो बैठकले पार्टीको आन्तरिक विवादलाई थप असहज बनाउने भन्दै बैठक रोक्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।
यता, नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक सोमबार (आज) बस्दै छ ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।
बैठकमा समसामयिक राजनीति र पार्टीको आगामी योजनाबारे छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।
सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे बैठकमा छलफल हुने माओवादी नेताहरु बताउँछन् ।