काठमाडौँ – नेकपा एमालेको माधवकुमार नेपाल समूहले जुनसुकै बेला पार्टी विभाजन हुन सक्ने भएकाले तयारी हालतमा रहन कार्यकर्ताहरुलाई निर्देशन दिएको छ।
एमाले नेपाल समूहका एक प्रभावशाली नेता भीम रावलले पार्टी विभाजन हुन सक्ने भएकाले तयारी अवस्थामा रहन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको हो। आज (शनिबार) धनगढीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रावलले यथास्थितिमा निर्वाचनमा जानुपर्ने अवस्था आए एमाले विभाजन हुने घोषणा गर्नुभयो।
विभाजित अवस्थामा आफूहरुको पार्टीको नाम एमाले र चुनाव चिन्ह सूर्य नरहन पनि सक्ने भएकोले त्यसका लागि तयार रहन रावलले कार्यकर्ताहरुलाई आह्वान गर्नुभयो। आफूहरु पार्टी फुटाउने मनस्थितिमा नरहे पनि बाध्यता आउन सक्ने रावलको भनाइ छ।
उहाँले प्रधानमन्त्री समेत रहनुभएका एमाले अध्यक्ष केपी ओलीले नै पार्टी फुटाउन खोजेको आरोप लगाउनुभयो । नेता रावलले ओली गुटले पार्टीलाई एकतावद्ध बनाउन नचाहने हो भने कर्णाली घटना अन्य प्रदेशहरुमा पनि बिस्तार हुने चेतावनी दिनुभयो ।
हिजो कर्णाली प्रदेशमा एमालेको माधव समूहमा रहेका चार सांसदहरुले फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकार जोगाइदिएको थियो । त्यसको भोलिपल्ट नेता रावलले केपी ओलीको हुकुमी शैली नरोकिए यो गठबन्धन अन्य प्रदेशमा पनि बिस्तार हुन समय नलाग्ने चेतावनी दिनुभएको हो ।
आफूहरु नेकपा एमालेको रक्षाका लागि अगाडि बढेका सिपाही रहेको बताउँदै रावलले पार्टीमा चलिरहेको मनपरी रोक्न यस्ता पाइला चाल्न परेको स्पष्ट पार्नुभयो । नेकपा एमालेको माधव समूहले केपी ओलीलाई धुलो चटाउने कामको सुरुवात कर्णालीबाट भएको र अन्य प्रदेशबाट पनि ओली गुटलाई मात दिने घोषणा गरिसकेको छ ।
नेकपा माओवादी केन्द्र र कांग्रेससँग मिलेर आप्नै पार्टीको ओली समूहसँग बदला लिने अभियानमा माधव समूह लागिपरेको छ । यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीपछि अब गण्डकी र लुम्बिनीबाट पनि ओली समूहलाई लखट्ने अभियान अन्तिम चरणमा रहेको बताउनुभएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले अब लुम्बिनी र गण्डकीसहित केन्द्र सरकार बदल्ने अभियान छिट्टै सफल हुने घोषणा गर्नुभयो ।माओवादी आन्दोलन र अध्यक्ष प्रचण्ड सकियो भनेर जाली फटाहाहरुले काठमाडौँमा स्याल हुँइया मच्याएको बताउँदै दाहालले यथार्तमा त्यस्तो नहरको दाबी गर्नुभयो ।
नेताहरुमा केही विचलन देखिए पनि फिल्डमा माओवादी बलियो देखिएको उहाँले बताउनुभयो । प्रचण्डले एमाले र माओवादीको एकता भएपछि एमालेभित्र नेता भेटियो भनेर आफ्नो प्रसंसा हुन थालेपछि ओली गुटलाई सह्य नभएको र त्यही बिन्दुबाट विभाजनको रेखा कोरिएको दाबी गर्नुभयो ।
कर्णालीमा देखिएको परिदृष्य देशभर छाउन सक्ने माओवादी र एमाले भित्रकै माधव समूहको घोषणापछि ओली सरकार झस्केको छ ।उपप्रधानमन्त्री ईश्वर पोखरेल, लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल लगायत ओली समूहका शीर्ष नेताहरुले पनि यस्तो कर्णाली घटना देशव्यापी बन्न सक्ने भएकोले सचेत रहनुपर्ने सार्वजनिक टिप्पणी गरेका छन् ।
उपप्रधानमन्त्री समेत रहनुभएका एमाले महासचिव इश्वर पोखरेलले त सरकार ढाल्ने षडयन्त्र भइरहेको बताउँदै त्यसको प्रतिवादमा उत्रन आम नागरिकलाई आह्वान गर्नुभयो । यसैबीच नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जना सांसदलाई कारबाही गरेको छ । प्रदेश कमिटीको आज बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरेको हो ।
यस्तै अर्का सांसद प्रकाश ज्वालालाई पनि कारबाहीको सिफारिस गरिएको छ । ज्वाला महाधिवेशन आयोजक कमिटी सदस्य रहेकोले प्रदेश कमिटीले पार्टी केन्द्रमा कारबाहीको सिफारिस गरेको हो । ज्वालासहित चार सांसदले पार्टीको ह्वीप विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर सरकार जोगाउनु भएको थियो ।