काठमाडौं । माओवादी केन्द्रले गण्डकी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले प्रस्ताव फिर्ता लिएको बारेमा सभामुखलाई पत्रकार्फत जानकारी गराएका छन् ।
‘पृथ्वीसुब्बा गुरुङको नेतृत्वको गण्डकी प्रदेश सरकारलाई नेकपा माओवादी केन्द्रको समर्थन रहँदै आएकोमा नेकपा माओवादीसँगको सहमति माननीय पृथ्वीसुब्बा गुरुङले एकपक्षीय रुपमा उल्लंघन गर्नुभएकोले आजकै मितिबाट उहाँको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउँछु’, पत्रमा भनिएको छ ।
यसैबीच, आजै मात्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमा प्रदेशसभा अधिवेशन अन्त्य गरेको थियो ।
अधिवेशन अन्त्यका बाबजुद नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ ।
अविश्वासको प्रस्तावमा कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जसपाका २ प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । तीन प्रदेशसभा सदस्य भएको राष्ट्रिय जनमोर्चाले प्रस्तावको पक्षमा मतदान गर्ने अन्य तीन दलको दाबी छ ।
यसैबीच, गण्डकी प्रदेशको प्रदेशसभा बैठक बोलाउनका लागि समावेदन दिन विपक्षी तीन दलबीच छलफल भइरहेको छ ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले गएराति प्रदेशसभा अधिवेशन अन्त्य गरेपछि विपक्षी दलहरु छलफलमा जुटेका हुन् ।
