Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य गर्ने निर्णयप्रति यस्तो छ प्रतिक्रिया प्रतिपक्षी दलहरुको !

गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य गर्ने निर्णयप्रति यस्तो छ प्रतिक्रिया प्रतिपक्षी दलहरुको !

  • बिहिवार, बैशाख २ २०७८

  • 1.0K
    SHARES

  • गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य गर्ने निर्णयप्रति यस्तो छ प्रतिक्रिया प्रतिपक्षी दलहरुको !

    काठमाडौं । गण्डकी प्रदेशको प्रदेशसभा बैठक बोलाउनका लागि समावेदन दिन विपक्षी तीन दलबीच छलफल भइरहेको छ ।
    मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज प्रदेशसभा अधिवेशन अन्त्य गरेपछि विपक्षी दलहरु छलफलमा जुटेका हुन् ।

    नेपाली काँग्रेसका प्रदेशसभा सदस्य विष्णु लामिछानेका अनुसार परिवर्तित सन्दर्भका बारेमा छलफल गर्न तीन दलको बैठक बसिरहेको छ ।

    काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी केन्द्र (जसपा)का सांसदहरुबीच छलफल भइरहेको उहाँले बताउनु भयो ।

    उहाँका अनुसार प्रदेशसभा बैठक बोलाउन प्रदेश प्रमुख समक्ष लिखित माग गर्ने सन्दर्भमा छलफल भइरहेको छ ।

    संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेश प्रमुखले प्रदेशसभाको अधिवेशन चालू नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वान्छनीय छ भनी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने व्यवस्था छ । त्यसरी तोकिएको मिति र समयमा प्रदेशसभाको अधिवेशन प्रारम्भ हुने वा बैठक बस्ने सो उपधारामा उल्लेख छ ।

    सोहीअनुसार प्रदेश प्रमुख समक्ष प्रदेशसभा बैठकको माग गर्दै लिखित निवेदन दिनेबारे दलहरुबीच छलफल भइरहेको सांसद लामिछानेले बताउनुभयो ।

    काँग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चा मिलेर आज नै प्रदेश मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी गरेका थिए ।

    अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी हुनासाथ मुख्यमन्त्री गुरुङले प्रदेश सभा अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार नै प्रदेशसभा अधिवेशन अन्त्य गर्नुभएको छ ।

    चार दलले गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि प्रदेश सरकारले मध्यरातमै प्रदेशसभा अधिवेशन अन्त्य गरेको हो ।


    बिहिवार, बैशाख २ २०७८०१:३३:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij