Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

के जसपा आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीमा लागेकै हो ?

के जसपा आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीमा लागेकै हो ?

  • मंगलवार, चैत्र ३१ २०७७

  • 1.4K
    SHARES

  • के जसपा आफ्नै नेतृत्वमा सरकार बनाउने तयारीमा लागेकै हो ?

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने विषयमा छलफल गरेको छ ।

    दुई दिनसम्म चलेको पदाधिकारी बैठकमा सबै नेताले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउन जोड दिएको बताइएको छ ।

    बैठकमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र अशोक राई सहभागी थिए ।

    सरकार गठनको विषयले पदाधिकारी बैठकमा औपचारिक प्रवेश पाइसकेको छ सहभागी एक नेताले बताए ।

    अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष डा. भट्टराईनिकट एक नेताले भने, ‘हाम्रै नेतृत्वमा सरकार बनाउने विषयमा सबै नेता सकारात्मक छौं, समय आएपछि औपचारिक निर्णय हुन्छ ।’

    यद्यपि, अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो निकट कतिपय नेताहरूले भने सरकार गठनको विषयमा निर्णय गर्ने बेला नै नभएको बताइरहेका छन् ।

    ‘वर्तमान सरकार बहुमतमा छ, अहिले अर्को सरकार गठनको विषयमा निर्णय गर्नु धेरै हतार हुन्छ’, कार्यकारिणी समितिका एक सदस्यले भने ।

    प्रतिनिधि सभाकोे चौथो ठूलो दल जसपाका ३४ सांसद छन् । जसमध्ये दुई जना निलम्बनमा परेका छन् । अब उसँग ३२ सांसद बाँकी छन् ।

    यसअघि संसद्को दोस्रो ठूलो दल नेपाली कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो ।

    यता, तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)ले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा सरकारको नेतृत्व गर्न कांग्रेसलाई प्रस्ताव गर्दै आएको छ ।

    यद्यपि, हालसम्म उसले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लाने सकेको छैन ।

    अर्कोतिर जसपाको अनिर्णले पनि नयाँ सरकार बन्ने बाटो नखुलेको राजनीतिक विश्लेषकहरुले बताइरहेका छन् । जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो, लक्ष्मणलाल कर्णलगायत नेता भने प्रधानमन्त्री ओलीकै निरन्तरतामा जोड दिँदै आएको आएका छन् । 

    यद्यपि, यादव र भट्टराईले नमानेपछि उनीहरु नयाँ विकल्पको खोजीमा लागेको र आफ्नै नेतृत्वको दाबी अघि सारेको बताइन्छ ।

    तर, संसद्को चौथो दलले नेतृत्व गर्ने विषय त्यति सहज भने नरहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । जसपाको सरकार बन्न पूरै एमाले वा कांग्रेस र माओवादी केन्द्रको समर्थन आवश्यक छ । यो त्यति सहज भने नभएको विश्लेषकहरु बताउँछन् ।

    सरकार गठनमा कसलाई सहयोग गर्ने विषयमा जसपा फुटको संघारमा पनि पुग्न सक्ने कतिपयले अनुमान गरेका छन् ।


    मंगलवार, चैत्र ३१ २०७७०२:१२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij