Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सत्ता जोगाउन केपी ओलीको महाधिवेशन क्षेप्यास्त्र निस्प्रभावीः प्रचण्डले भने 'मलाई फसाइयो'

सत्ता जोगाउन केपी ओलीको महाधिवेशन क्षेप्यास्त्र निस्प्रभावीः प्रचण्डले भने 'मलाई फसाइयो'

  • आइतवार, श्रावण ४ २०७७

  • 874
    SHARES

  • सत्ता जोगाउन केपी ओलीको महाधिवेशन क्षेप्यास्त्र निस्प्रभावीः प्रचण्डले भने 'मलाई फसाइयो'

    काठमाडौँ – शनिबार अवेर साँझ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास प्रस्थान गरेको समाचार बाहिर आयो ।

    एकातिर सचिवालय बैठकमा कुनै ठोस सहमति नभएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताइरहँदा अर्काेतिर पार्टीका दुवै अध्यक्ष राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास हानिएको घटनाले कुनै ठूलो राजनीतिक परिघटनाको संकेत दिइरहेको थियो । एकछिनपछि खबर सार्वजनिक भयो कि पार्टीको विवाद समाधानका लागि केपी शर्मा ओलीले आउने मंसिरमा महाधिवेशन गर्ने प्रस्तावलाई प्रचण्डले सहमति जनाउनुभयो । कतिपयले राष्ट्रपतिलाई साक्षी राखेर ओली र दाहालबीच मंसिरमा महाधिवेशन गर्ने सहमति भएको समेत विष्लेषण गरे ।

    तर शनिबार रातिसम्मको यो राजनीतिक परिघटनाले आइतबार बिहान फरक रुप धारण ग¥यो जब प्रचण्डले वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल लगायत आफू पक्षीय नेताहरुलाई खुमलटारस्थित निवासमा बोलाएर घटनाक्रमहरुबारे बिफ्रिङ गर्नुभयो । हिजोसम्म मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा सहमत भनिएका प्रचण्डले आज बिहान नेताहरु नेपाल र खनालसहितको भेटमा आफूलाई परिबन्दमा पारिएको दाबी गर्दै महाधिवेशनबारे कुनै सहमति नभएको जिकिर गर्नुभयो ।

    ‘त्यसो भए ओलीसँग किन राष्ट्रपतिलाई भेट्न शीतल निवास गएको’ नेताहरुको सामूहिक प्रश्नमा प्रचण्डले आफूलाई परिबन्दमा पारिएको जवाफ दिनुभयो । आफूलाई अपमानजनक ढंगले शीतल निवासमा बोलाइएको कुरा प्रचण्डले खुमलटार बैठकमा बताउनुभएको नेता देबेन्द्र पौडेलले जानकारी दिनुभयो ।

    श्रोतका अनुसार हिजोको सचिवालय बैठक सकिएपछि प्रचण्डले बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्ने समय निर्धारण गरिएको थियो । तर सचिवालय बैठक सकिनेबित्तिकै महासचिव विष्णु पौडेलले पार्टीका दुवै अध्यक्षलाई राष्ट्रपति भण्डारीले भेट्न चाहनुभएको सन्देश प्रचण्डको मोबाइलमा पठाउनुभयो । लगत्तै प्रधानमन्त्री ओेलीले नै फोन गरेर आफूहरु शीतल निवासमा कुरिरहेको बताएपछि प्रचण्डको गाडी शीतल निवासतर्फ कुदेको थियो । शीतल निवास पुगेपछि अपमानजनक ढंगले आफूलाई बोलाइएको महसुस भएको प्रचण्डले आज बिहानको बैठकमा बताउनुभएको श्रोतले बताएको छ ।

    प्रचण्डलाई माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरुले केपी ओलीसँग फेरि सहमति गरेर धोका दिन खोजेको हो भन्दै जवाफ मागेका थिए । छलफलमा सहभागी नेता बेदुराम भुषालले दुई अध्यक्षबीच मात्रै हुने सहमतिलाई कुनै हालतमा मान्यता नदिइने कुरा अध्यक्ष प्रचण्डसमक्ष राखिएको जानकारी दिनुभयो ।

    मंसिरमा महाधिवेशनको प्रस्ताव अहिलेको विवादलाई विषयान्तर गरेर पद जोगाउने केपी शर्मा ओलीको नयाँ क्षेप्यास्त्र मात्रै रहेको रुपमा आफूहरुले बुझेको नेताहरुले बताएका छन् । उनीहरुले पार्टी एकता प्रक्रियाका थुप्रै काम गर्न बाँकी रहेका बेला नयाँ नयाँ षडयन्त्र रचेर पार्टी र कार्यकर्तालाई धोका दिन नमिल्ने बताएका छन् । नेता जगन्नाथ खतिवडाले अहिलेको अवस्थामा मंसिरमा महाधिवेशन कुनै हालतमा सम्भव नरहेको बताउनुभयो ।

    तर इच्छा शक्ति भए मंसिरमा महाधिवेशन गर्न सकिने कुरालाई नकार्न नसकिने पार्टीका कतिपय नेताहरुको तर्क छ । नेता टोपबहादुर रायमाझीले सहमति सहकार्य र एकताकाका लागि महाधिवेशन उपयुक्त विकल्प रहेको बताउनुभयो । पार्टीको स्थायी कमिटि बैठकमा महाधिवेशनमा जाने प्रस्ताव आउनुलाई अन्यथा मान्न नसकिने उहाँको भनाई छ ।

    विकसित घटनाक्रमहरुले नेकपा भित्रको विवाद समाधानको साटो झन झन उल्झनमा पर्दै गएका बेला पार्टीका दुई अध्यक्षबीच आज पनि बालुवाटारमा छलफल भएको छ । केपी शर्मा ओलीसँग भेटवार्ताका लागि समय लिएर प्रचण्ड बालुवाटार छिरेको श्रोतले बताएको छ । तर दुई अध्यक्षबीच भएको पछिल्लो कुराकानीको विवरण सार्वजनिक भइसकेको छैन । आजको छलफलमा नेताहरु जनार्दन शर्मा र विष्णु पौडेल पनि सहभागी हुनुभएको थियो ।


    आइतवार, श्रावण ४ २०७७०७:५६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij