काठमाडौं । नेपाली काँग्रेसका नेता कल्याण गुरुङले नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म काँग्रेसले अविश्वासको प्रस्ताव नल्याउने बताउनुभएको छ ।
उहाँले माओवादी केन्द्र र जनता समाजवादी पार्टीले काँग्रेसले देशमा राजनीतिको नेतृत्व गर्नुपर्ने प्रस्ताव औपचारिकरुपमा नल्याएसम्म पार्टीले सरकारविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने जानकारी दिनुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उहाँले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता नलिने अनि काँग्रेसले नेतृत्व गर्नुपर्यो भनेर दोधारे कुरा गर्नाले नयाँ सरकार गठनमा ढिलाई भएको आरोप लगाउनुभएको छ । संविधानलाई गतिशील बनाउन काँग्रेस सधैँ तत्पर रहेको नेता गुरङले दावी गर्नुभयो ।
फरक प्रसंगमा उहाँले भदौभित्रमा काँग्रेसको १४ औं महाधिवेशन जुनसुकै हिसाबमा पनि सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । भदौमा महाधिवेशन सम्पन्न गर्नुबाहेक काँग्रेससँग अरु कुनै विकल्प नरहेको नेता गुरुङले बताउनुभएको छ ।
१४ औं महाधिवेशनमा पार्टीको नेतृत्व लिन युवाहरु पनि तयार हुनुपर्ने उल्लेख गर्दै उहाँले आफु महाधिवेशनमा केन्द्रीय सभापति पदका लागि खडा हुने समेत स्पष्ट पार्नुभयो ।