काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको माधवकुमार नेपाल समूहका कुनै पनि शर्त मान्य नहुने बताउनुभएको छ ।
गुटगत रुपमा अब कसैसँग छलफल समेत नगरिने अडान ओलीले लिनुभएको हो । आज संसदीय दलको बैठकमा माधव समूहमा रहेका झलनाथ खनालसहितका नेताहरुले पार्टीलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन माग गरेका थिए ।
सर्वाेच्चको फैसलापछि ब्यूँतिएको एमालेको संसदीय दलको बैठकमा पहिलो पटक सहभागी भएका उनीहरुले फागुन २८ यताका सबै निर्णयहरु रद्द गर्न माग गरेका थिए । तर प्रधानमन्त्री समेत रहनुभएका ओलीले यस्ता कुनै पनि शर्तहरु मान्य नहुने जवाफ फर्काउनुभएको हो ।
फागुन २८ पछि भएका निर्णयहरुबाट कुनै हालतमा पछि हट्न नसकिने कुरा बैठकमा प्रधानमन्त्रीले राख्नुभएको एमाले सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले पठाएको स्पष्टीकरण ’कारबाहीयोग्य’ रहेको बताउनुभएको मुख्य सचेतक भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल र रावलले दिएको स्पष्टीकरण अत्यन्त नकारात्मक रहेको र स्पष्टीकरण सोधिएका थप दुईजनाबाट सकारात्मक जवाफ आउने अपेक्षा आफूले गरेको कुरा प्रधानमन्त्रीले बैठकमा राख्नुभएको थियो । प्रधानमन्त्रीकै शब्दमा कारबाहीयोग्य स्पष्टीकरण बुझाएका नेता नेपाल र रावललाई कस्तो कारबाही गर्ने भन्नेबारे केन्द्रीय कमिटी बैठकले टुङ्गो लगाउने छ ।
बैठकमा माधव समूहमा रहेका नेताहरुले भने पार्टीलाई एकढिक्का बनाउने अभिभारा लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । नेपाल पक्षका नेता योगेश भट्टराईले आफूहरूले तितो पिरो बिर्सेर अघि बढ्न प्रधानमन्त्रीलाई अनुरोध गरेको जानकारी दिनुभयो । मुलुकले एमालेको एकता चाहेको कुरा प्रधानमन्त्रीसमक्ष आफूले राखेको उहाँले बताउनुभयो ।
माधव समूहमा रहेका नेताहरुले तितोपिरो बिर्सेर अघि बढ्न आग्रह गरे पनि अध्यक्ष ओलीले गुटलाई पार्टीमा कुनै स्थान नदिने स्पष्ट पार्नुभएको छ । तर माधव समूहले भने पार्टीलाई विधि पद्धतिमा हिँडाउन एमालेभित्र संघर्ष जारी रहने बताएको छ । नेता रघुजी पन्तले पार्टीलाई शुद्ध बनाउनकै लागि एमालेमै रहेर सबै उपायहरु अपनाइने बताउनुभयो ।
यसैबीच प्रचण्डको मतियार बनेको आरोप ओलीले लगाइरहेका बेला नेता माधव नेपालले लगातार दोस्रो दिन उनै प्रचण्डसँग गोप्य भेटवार्ता गर्नुभएको छ ।
कोटेश्वरको महादेवस्थानमा एक व्यापारीको घरमा माधवकुमार नेपाल, झलनाथ खनाल र प्रचण्डबीच गोप्य वार्ता भएको हो । उनीहरुबीच के कुराकानी भयो भन्ने खुलाइएको छैन ।