काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले बामपन्थीको सरकार फेरि बन्नुपर्ने बताउनुभएको छ ।
उहाँले बामपन्थीलाई जनताले ५ वर्षको म्याण्डेट दिएर पठाएको बताउँदै जनताको मतको कदर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर अन्य बामपन्थी नेतालाई नेत्तृत्व हस्तातन्तरण गर्नुपर्ने दावी गर्नुभयो ।
संसद् विघटनजस्तो असंवैधानिक कदम चाल्ने प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष केसीको भनाइ छ ।
नेपाली रेडियो नेटवर्क नेपाली बहसमा पत्रकार ऋषि धमालासँग कुरा गर्दै उहाँले भन्नुभयो, “बामपन्थीलाई नेपाली जनताले ५ वर्षका लागि म्याण्डेट दिएको हो, त्यसैले पुरै कार्यकाल पार्टीको आन्तरिक विवाद त्यागेर देशमा स्थायित्व स्थापित गर्न सरकार र राजनीतिक दल लाग्नुपर्ने मेरो सुझाव छ ।”
राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसीले अविश्वासको प्रस्तावको सामना गर्न नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्रीले पुनस्र्थापनापछि म आफैं राजीनामा दिदिँन अविश्वासको प्रस्तावले हटाउ भनेर चुनौति दिनु गलत प्रवृत्ति भएको टिप्पणी गर्नुभएको छ ।