काठमाडौं । भारतले नेपालसँगको सीमा क्षेत्रमा एकतर्फी रुपमा निर्माण गरिरहेको तटबन्ध निर्माणमा नेपाल सरकारले मौन सहमति गरेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेसले प्रश्न उठाएको छ ।

आज प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले सीमा क्षेत्रमा निर्माणधिन तटबन्धबारे नेपाल सरकार र गृहमन्त्रालय बेखबर रहेको बताउनुभएको छ ।
दार्चुलाको सदरमुकामस्थित महाकाली नगरपालिका –५ को पारीपट्टी भारत सरकारले तीन महिना यता नेपाल सरकारको कुनै सहमति र जानकारी बिना एकतर्फी रुपमा नेपालको समेत जमिन समेटेर तटबन्ध बनाइरहेको भन्दै उहाँले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
‘सिडिओले पारीपट्टी पत्राचार गर्दा पनि सुनुवाई भएन । त्यहाँका जनता, पार्टीका नेता कार्यकर्ताले पटक–पटक गृहमन्त्रालयमा ताकेता गरिरहेका छन् । तर, नेपाल सरकार सुतिरहेको र बेखबर रहेको छ’, उहाँले भन्नुभयो ।
यसैगरी, सांसद गगन थापाले वर्तमान सरकार रहेसम्म संसद्को अपमान बढ्दै जाने बताउनुभएको छ । बैठकमा बोल्दै थापाले प्रतिनिधिसभा भंग गर्दा सांसदहरुको नभई जनताको अपमान भएकाले आफूलाई गरेको अपमानको बदला जनताले यथोचित समयमा लिने बताउनुभयो ।
प्रतिनिधिसभा भंग गर्ने निर्णय सही थियो भन्ने स्थापित गराउन सरकारले संसद्लाई कामविहीन बनाउन खोजेको उहाँको टिप्पणी छ ।