काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता कर्ण थापाले माधव नेपाल प्रचण्डको निर्देशनमा चलिरहेको आरोप लगाउनुभएको छ ।
उहाँले नेपाल समूहले सर सल्लाह गरेर एमाले पार्टी कब्जा गर्न खोजेको बताउँदै प्रचण्डको निर्देशनमा यो सबै क्रियाकलाप भइरहेको उल्लेख गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भन्नुभयो,“देशलाई संकटमा पार्न यो सबै खेल हुँदै छ, माधव नेपालजी एमाले पार्टी कब्जा गर्ने सोचमा प्रचण्डजीको निर्देशनमा चलिरहनुभएको छ, तर यो सम्भव छैन्, अनि उहाँहरुको भेला एमालेको होइन, गुटगत भेला मात्र हो ।”
झलनाथ खनाल–माधव नेपाल समूहले आयोजना गरेको भेलालाई एमालेको भेला भन्न नमिल्ने उहाँले दावी गर्नुभएको छ ।
नेता थापाले नेपालले ओलीविरुद्ध ल्याउनु भएको राजनीतिक प्रतिवेदनमा मिथ्या आरोप मात्र समेटिएको स्पष्ट पार्नुभयो ।
बुधबार एमाले नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलामा नेपालले राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो । उहाँले पेश गर्नुभएको प्रस्तावमा कम्युनिस्ट आन्दोलनमा असाधारण परिस्थिति आएको विश्लेषण गरिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीका व्यवहारले पार्टी र देशमा एकपछि अर्को समस्या थपिँदै गएको बताइएको छ ।