काठमाडौं । कर्णाली प्रदेशमा केपी ओली पक्षीय एमाले संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आज बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै संसद सचिवालयलाई जानकारी गराउने निर्णयसमेत गरेको छ । हाल कर्णालीमा माओवादी केन्द्रको नेतृत्व रहेको छ ।
बैठकले मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिँदै दलको नेताको रुपमा यामलाल कँडेललाई चयन गर्नुका साथै अनुपस्थित नेपाल पक्षीय सांसदसँग स्पष्टीकरण माग्ने निर्णय पनि गरेको छ । बैठकमा एमाले प्रदेश इञ्चार्ज यमलाल कँडेल सहित १० जना सांसदहरु सहभागि थिए । कँडेलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै अब प्रक्रियाबाट नयाँ सरकार गठनमा लागिने बताउनुभयो ।
सांसद खड्गबहादुर खत्री, दानसिंह परियार, पद्मा खड्का, पदमबहादुर रोकाया , बद्रीकुमारी बोहोरा, राजु नेपाली, गुलाबजङ्ग शाही , देव ओली र मीनासिंह रखाल बैठकमा सहभागी भएका थिए । सांसद खड्का र रोकाया माधव नेपाल पक्षबाट ओली समूहमा फर्किएका हुन् ।
यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बूढा पनि ओली समूहमै फर्किएका छन् । यद्यपि, उहा बैठकमा सहभागी भने हुनुभएको थियन । सामाजिक विकासमन्त्री दल रावल पनि ओली पक्ष एमालेमा फर्किने कुरा निश्चित रहेको स्रोतको दावी छ ।