काठमाडौं । ओली विनाको सरकार गठनका लागि निर्णायक बन्न सक्ने जनता समाजवादी पार्टीले आज संसदीय दलको बैठक बोलाएको छ ।
दिउँसो १ बजेपछि सिंहदरबारमा बस्ने बैठकले संसदमा खेल्ने भूमिकाको बारेमा छलफल गर्ने नेताहरुले जनाएका छन् ।
गत २३ गते सुरु भएको प्रतिनिधि सभाको बैठक भोली सम्मका लागि स्थगित गरिएको छ । भोलीदेखि संसदमा पार्टीले खेल्ने भूमिका नै छलफलको मुख्य विषय बन्ने नेता महेन्द्र राय यादवले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारबाट हटाउनु पर्ने पक्षमा लामो समयदेखि उभिदै आएको पार्टी भएकाले नयाँ सरकार गठनका बारेमा पनि बैठकमा छलफल हुने भएको छ ।
ओली विरुद्धको अविश्वासको प्रस्तावलाई समर्थन गर्ने र नयाँ सरकार गठनका लागि सहयोग गर्ने निर्णय पनि बैठकले गर्ने अपेक्षा गरिएको छ ।
ओली इतरको सरकार गठनका लागि काँग्रेस र माओवादी केन्द्रलाई जसपाको समर्थन अनिवार्य हुने भएकाले जसपा निर्णायक हुने भएको हो ।
ओलीलाई भने अन्य ठूला तीन पार्टी मध्ये जसपाकै समर्थन भएपनि पुग्ने देखिन्छ । तर ओलीका विरुद्धमा लामो समयदेखि उभिदै आएको जसपालाई ओलीसँग तत्काल सहकार्य गर्न नैतिक रुपमा गाह्रो पर्ने भएकाले जसपा काँग्रेस र माओवादीसँग मिल्नु पर्ने अवस्था रहेको छ ।
त्यसैगरी काँग्रेस र माओवादी पनि ओली विरुद्ध अविश्वासको प्रस्ताव राख्ने तयारीमा रहेकाले उनीहरुले पनि ओलीसँगै मिलेर सरकार बनाउने संभावना कम देखिएको छ ।
त्यसैले भावी सरकार काँग्रेस, माओवादी र जसपा मिलेर बनाउन सजिलो हुने र त्यसमा सहमतीका आधारमा सरकारको नेतृत्व छनौट गर्नु पर्ने देखिएको छ ।
आज बस्ने संसदीय दलको बैठकमा जसपाले सरकारको नेतृत्वमा दावी गर्ने की अरुलाई सहयोग गरेर सरकारमा जाने की सरकारमै नजाने तर समर्थन मात्रै गर्ने लगायतका विभिन्न विकल्पहरुका बारेमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।