काठमाडौँ – साविकको नेकपा प्रचण्ड माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेको छ।
आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पूर्वएमाले नेताहरु एमालेमै फर्किने र पूर्व माओवादी केन्द्रका नेताहरुले माओवादी केन्द्र नै ब्यूँताउने निर्णय गरेको हो।
बैठकबाट बाहिरिँदै वरिष्ठ नेता झलनाथ खनालले एमाले अगल र माओवादी केन्द्र अलग भएर जाने निर्णय भएको जानकारी दिनुभयो । सर्वोच्च अदालतको फैसला मानेर आफूहरु अलग अलग जाने खनालले बताउनुभयो । अब एमालेभित्रै रहेर संघर्ष गर्ने उहाँले बताउनुभयो ।
यस्तै साविकको नेकपा दाहाल – नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि एमाले अलग र माओवादी केन्द्र अलग भएर जाने निर्णय भएको जानकारी दिनुभयो । सर्वाेच्च अदालतले नेकपाका सम्बन्धमा आइतबार गरेको फैसलालाई राजनीतिक फैसलाका रुपमा लिएको उहाँले बताउनुभयो ।
तर सर्वाेच्चको आदेश मानेर माओवादी केन्द्र र एमाले अलग भएर जाने निर्णय भएको उहाँले बताउनुभयो । सर्वाेच्चले एकता विभाजन गर्ने फैसला अनुपयुक्त रहेकोले त्यसको न्यायिक पुनरावलोकनमा जाने निर्णय पनि आजको बैठकले गरेको श्रेष्ठले बताउनुभयो ।
सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको थियो । सर्वोच्चको फैसलापछिको रणनीति तय गर्न आज प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक बोलाएको थियो । उक्त बैठकले पूर्ववत पार्टीमा फर्कने निर्णय गरेको हो । तर यो निर्णय कार्यान्वयन हुन थप कानुनी जटिलता रहेको विज्ञहरुले बताएका छन् ।
संविधानविद ओमप्रकाश अर्यालले परिस्थिति धेरै अगाडि बढिसकेका बेला पूर्ववत पार्टीमा फर्कने निर्णय कार्यान्नवय हुन कठिन रहेको बताउनुभयो । नेकपा एमाले र माओवादी केन्द्र हाल अर्कैको नाममा दर्ता भइसकेका कारण पनि यो निर्णय लागु कुन कठिन रहेको उहाँ बताउनुहुन्छ ।
प्रचण्ड माधव समूहको आजको स्थायी कमिटि बैठकमा पार्टी एकताको पहललाई पनि निरन्तर रुपमा अगाडि बढाउँदै लैजानेबारे छलफल भएको थियो । नेता रघुजी पन्तले नयाँ शिराबाट पार्टी एकता गर्न सकिने भए दुवै अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पहल गर्नुपर्ने सुझाव आफूले बैठकमा दिएको बताउनुभयो ।
तर प्रधानमन्त्री केपी शर्मा ओली समूहले भने अब माओवादीसँग एकता भन्दा पनि एमाले पार्टीलाई नै बलियो पारेर लैजाने संकेतहरु देखाएको छ । विभिन्न जिल्लामा नेकपा पार्टीका साइनबोर्डहरु हटाएर नेकपा एमालेका राखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेकपाको साधारण सदस्य समेत नरहेको बताउँदै एमालेको अध्यक्ष रहेको घोषणा गर्नुभएको छ ।
नेकपा माओवादी र एमाले अलग अलग भएर जाने भएपछि अब केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत माओवादी केन्द्रले गरेको छ । तर माओवादी पृष्ठभूमि रहे पनि हाल ओली समूहमा रहेका नेताहरुले बरु पद त्याग गर्न तर ओलीको साथ नछाड्ने घोषणा गरेपछि प्रचण्ड समूह कमजोर बन्ने देखिएको छ ।