Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images
एमाले–माओवादी एकीकरण बदर

सर्वाेच्चको फैसलाले राजनीतिमा कालो बादल, संविधानविद भन्छन्, ‘अनिष्टकारी’

सर्वाेच्चको फैसलाले राजनीतिमा कालो बादल, संविधानविद भन्छन्, ‘अनिष्टकारी’

  • आइतवार, फाल्गुण २३ २०७७

  • 1.3K
    SHARES

  • सर्वाेच्चको फैसलाले राजनीतिमा कालो बादल, संविधानविद भन्छन्, ‘अनिष्टकारी’

    काठमाडौँ – सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्र व्यूँताएपछि नेपालको राजनीति फेरि एक पटक अनिश्चयको भूमरीमा फसेको छ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादमा ऋषि कट्टेल नेतृत्वको नेकपा नै आधिकारिक ठहर गर्दै सर्वाेच्चले एमाले र माओवादीको एकतालाई नै बदर गरिदिएपछि राजनीतिमा फेरि कालो बादल मडारिएको हो।

    संविधानविद ओमप्रकाश अर्यालले सर्वाेच्चको आजको फैसला अनिष्टकारी रहेको दाबी गर्नुभयो । उहाँले एमाले माओवादीको एकता नै बदर गर्ने अदालतको फैसलाले राष्ट्रिय राजनीतिलाई चक्रव्यूहमा फसाएको बताउनुभयो।

    पार्टीको नाम प्रयोग गरिएको भन्दै परेको मुद्दामा एकीकरणलाई नै बदर गर्ने अदालतको फैसला कानुनी भन्दा धेरै राजनीतिप्रेरित रहेको उहाँको जिकिर छ।

    एमाले र माओवादीको एकता बदर गर्ने सर्वाेच्चको फैसलाको प्रारम्भिक प्रतिक्रिया हेर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह उत्साहित देखिएको छ भने प्रचण्ड–माधव समूहले यसलाई अनपेक्षित भनेको छ।

    नेता भीम रावलले एकीकरण बदर गर्न अदालतबाट भएको फैसला कानुनी हो कि राजनीतिक भनेर गम्भीर विचार विमर्ष गर्नुपर्ने बताउनुभयो।

    उहाँले अदालतको आजको फैसलापछि सरकारको वैद्यता समेत गुमेको बताउँदै प्रधानमन्त्रीले आफू कुन पार्टीको हुँ भनेर सदनलाई जानकारी गराउनुपर्ने माग गर्नुभयो।

    सर्वोच्च अदालतले साविकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रले एकीकरण गर्न चाहेमा राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी आयोगमा उपस्थित हुन जानकारी दिई शीघ्र कानून बमोजिम आवश्यक निर्णय गर्नू गराउनू भनेर निर्वाचन आयोगको नाममा परमादेश जारी गरेको छ।

    तर अब तत्कालीन एमाले र माओवादीले एकता प्रक्रियालाई फेरि शून्यबाट सुरु गर्न सम्भव नै नरहेको संविधानविद अर्यालको दाबी छ। दल एकीकरण भएर निर्वाचनमा पनि भाग लिइसकेको अवस्थामा दुई पार्टी पूर्ववत अवस्थामा फर्कनै नमिल्ने बताउनुभयो।

    यता अदालतले आधिकारिकता प्रदान गरेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष ऋषि कट्टेलले आफूहरुलाई ढिलो भए पनि न्याय मिलेकोमा खुशी व्यक्त गर्नुभयो।

    सत्ताको आडमा आफूहरुलाई पेल्न खोजे पनि अहिले ओली र प्रचण्डहरुको हार भएको उहाँले बताउनुभयो। यी दुवै समूहसँग आफ्नो पार्टीको एकता अथवा नामका लागि अन्य कुनै बार्गेनिङ नहुने कट्टेलले बताउनुभयो।

    सर्वाेच्चको फैसलापछि उत्साहित बनेको केपी ओली समूहका कार्यकर्ताले एमाले व्यूँतिएको भन्दै काठमाडौँमा खुशीयाली जुलुस निकालेका छन्। सामाजिक सञ्जालमा पनि पूर्व एमालेका नेता कार्यकर्ताहरुले उत्साहित प्रतिक्रिया जनाइरहेका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसलालाई मानेर अघि बढ्ने बताउनुभएको छ। प्रचण्ड–माधव समूहले भने अदालतको फैसलापछि उत्पन्न जटिलताबारे कानुनविदहरुसँग परामर्श गरिरहेको छ।


    आइतवार, फाल्गुण २३ २०७७०७:५९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij