Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

‘केपी ओली सत्तामा रहेसम्म भारतसँग वार्ता असम्भव’

‘केपी ओली सत्तामा रहेसम्म भारतसँग वार्ता असम्भव’

  • बुधवार, आषाढ ३१ २०७७

  • 1.3K
    SHARES

  • ‘केपी ओली सत्तामा रहेसम्म भारतसँग वार्ता असम्भव’
     

    काठमाडौँ – नेपालमा केपी शर्मा ओली सत्तामा रहँदासम्म सीमा विवादबारे भारतसँग वार्ता हुने सम्भावना लगभग टरेको विज्ञहरुले बताएका छन् । भारतलाई चिढ्याउने ओलीका अभिव्यक्तिहरुकै कारण दुईदेशबीच छिट्टै सीमा विवादबारे वार्ता हुने सम्भावनाहरु क्षिण बन्दै गएको विज्ञहरुले बताएका हुन् ।

    प्रधानमन्त्रीले कहिले सत्य मेव जयते कि सिंहमेव जयत भनेर भारतलाई चिढाइरहनुभएको छ भने कहिले भगवान रामको जन्मभूमि नेपालमा रहेको तर भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको आरोप लगाइरहनुभएको छ ।

    यसरी प्रधानमन्त्रीको तहबाट आएका अभिव्यक्तिहरुले भारतसँग नेपालको सम्बन्ध अत्यन्तै गम्भीर मोडमा पुगेको विज्ञहरुले बताएका छन् । राजनीतिक विश्लेषक लोकराज बरालले भारतलाई चिढाउने ओलीको अभिव्यक्तिका कारण अब सीमा विवादबारे वार्ताको ढोका लगभग बन्द भएको बताउनुभयो । तत्काल वार्ता भइहाल्ने परिस्थिति नरहेको उहाँको भनाई छ ।

    लिम्पियाधुरालाई समेत समेटेर नक्सा जारी गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिले चिसिँदै गएको नेपाल भारत सम्बन्ध अब फ्रिजको अवस्थामा पुगेको र यो सरकारले अव सुधार्नै नसक्ने विज्ञहरुको भनाई छ । प्रतिपक्षी दलका नेताहरुले समेत अब ओली सत्तामा रहँदासम्म भारतसँग वार्ता हुने सम्भावना सकिएको सार्वजनिक टिप्पणी गर्न थालेका छन् ।

    नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रधानमन्त्रीको तथ्यहिन अभिव्यक्तिका कारण नेपाल–भारतबीच चिसिँदै गएको सम्बन्ध अब पूर्ण रुपमा जमेर फ्रिज भएको बताउनुभयो । प्रधानमन्त्रीको जथाभावी अभिव्यक्तिकै कारण अब सीमा विवादबारे भारतसँग वार्ता हुने सम्भावनामा पनि ब्रेक लागेको उहाँको आशय छ ।

    अहिले नयाँ नक्सा जारीपछि भारतसँग वार्ताको वातावरण मिलाउनुपर्नेमा ओलीले उल्टै कहिले मलाई भारतले हटाउन लाग्यो भन्ने त कहिले नेपालको अयोध्यामा जन्मिएका रामलाई आफ्नो भनेर भारतले सांस्कृतिक आक्रमण ग¥यो भन्ने गर्नु गलत भएको खड्काको भनाई थियो । यस्तै सत्तारुढ दल नेकपाका नेता भीम रावलले पनि ओलीको भनाई असान्दर्भिक र आफ्नो असफलता ढाकछोप गर्ने मुर्खतापूर्ण दुस्साहस भएको टिप्पणी गर्नुभयो ।

    संवेदनशील विषयमा बोल्दा राष्ट्रलाई आइपर्ने समस्याबारे ओलीले ख्याल नगरेको रावलको आरोप छ । प्रधानमन्त्रीको अभिव्यक्ति परराष्ट्र मन्त्रालयले सच्याउनुपर्ने अवस्था सृजना हुनु मुलुककै लागि लज्जास्पद रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतबाट फिर्ता लिने अभियानमा समेत बाधा पुगेको रावलको भनाई छ ।

    आफैले जारी गरेको नयाँ नक्साका विषयमा कुरा गर्ने आँट नभएपछि भारतबारे जथाभावी बोलेर राष्ट्रवादी छवि मजबुद बनाउने रणनीतिक चालबाजीमा ओली रहेको कतिपयले बताइरहेका छन् ।

    पार्टीभित्रको दबाबका कारण राजीनामा दिनै परे पनि आफू महान राष्ट्रवादीका रुपमा चित्रित हुने र अरु नेताहरुलाई भारतपरस्तको बिल्ला भिराउने अभिलाशा बमोजिम ओलीले भारतविरुद्ध बोलिरहेको तर्क गर्नेहरु पनि छन् । तर आफ्नो व्यक्तिगत छविमा मात्रै ध्यान दिएर राष्ट्र र राष्ट्रियतामा पर्न सक्ने गम्भीर खतराबारे प्रधानमन्त्रीले ध्यान नदिनु जायज होइन ।


    बुधवार, आषाढ ३१ २०७७०७:१७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij