काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली संसद्पछि अब आफूलाई ध्वस्त पार्ने खेलमा लागेको आरोप लगाउनुभएको छ ।
नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै उहाँले भन्नुभयो, “केही व्यक्तिहरुलाई बोलाएर प्रचण्डलाई म ध्वस्त पार्छु किन लाग्नु भएको छ उहाँको पछि भन्ने गरेको सुने छु, संसद् ध्वस्त पार्न सफल नभएपछि अब उहाँको मिसन र टार्गेट प्रचण्डलाई ठिक पार्छु भन्ने बनेको रहेछ ।”
ओली र आफूबीचको दुरी धेरै टाढा भइसकेकाले अब प्रचण्ड र ओली एकै ठाउँमा सँगै हुने कुनै सम्भावना नरहेको पनि उहाँले खुलासा गर्नुभएको छ ।
पुस ५ गते अघिसम्म स्थायी कमिटी बैठक पनिसँगै बसीरहेका आफूहरुबीच प्रतिनिधिसभा विघटनपछि पार्टीको आन्तरिक मात्र नभई प्रतिगमन र जनताको सम्मानको लडाइ बनिसकेकाले सहकार्य सम्भव नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “किनभने हाम्रो दूरी पहिलासम्म आन्तरिक विवादका रुपमा थियो, पुस ५ गतेभन्दा अगाडीसम्म, हामी स्थायी कमिटीको बैठकसँगै बसिराखेकै थियौँ, तर जब उहाँले पार्टीभित्रको विवादलाई देखाएर संविधानमाथि नै घात गर्ने, संसद् विघटन गर्ने, हुँदै नभएको अधिकार प्रयोग गर्ने जस्ता जो दुस्शाहस उहाँले गर्नुभयो त्यसपछि केपी जी र हामीबीचको अन्तरविरोध अब पार्टीभित्रको सामान्य विरोध रहेन्, यो प्रतिगमन र अग्रगमनको लडाइ हुन पुग्यो, यो क्रान्ति र प्रतिक्रान्तिको विषय बनेकाले सहकार्य सम्भव छैन ।”
प्रचण्डले न्यूनतम नैतिकता र भोलीको लागि आधार राख्न भएपनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो पदको झगडा नभएको दावी गर्दै उहाँले मुलुकलाई उचित निकास दिन ओलीले जतिसक्दो चाडो राजीनामा दिनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “ओलीसँग मेरो पदको झगडा हुँदै होईन, यो त लोकतन्त्र कि निरंकुश तन्त्र, संविधानवाद् कि अराजकता र संघीय लोकतान्त्रिक गणतन्त्र या अन्य कुनै अध्याँरो सुरुङ तिर मुलकलाई ढाल्ने भन्ने विषयको मतान्तर मात्र हो, ओलीले पदबाट राजीनामा दिएर मुलुकलाई निकास दिनैपर्छ ।”
उहाँले आधिकारीक र वैधानिक सबैरुपमा निर्वाचन आयोगलाई दस्तावेज बुझाइसकेकाले आयोगले अब दाहाल–नेपाल समूहलाई आधिकारीकता प्रदान गर्नुपर्नेमा पनि जोड दिनुभयो ।