काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना हुँदैमा सरकार नफेरिने दाबी गर्नुभएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसलालाई सामान्य भन्दै उहाँले सरकार नफेरिने दाबी गर्नुभएको हो।
संसद पुनर्स्थापनासँगै अब प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्नुपर्ने माग चौतर्फी रुपमा उठिरहेको छ।
तर काठमाडौँमा नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रममा ओलीले सरकार नफेरिने दाबी गर्नुभएको हो।
‘अहिले यो सरकार छ। सरकार रहन्छ। विकासको काम अघि बढिरहेको छ। तपाईँहरू विकासको मार्गमा निश्चिन्त निस्फिक्री ढंगले अघि बढ्नुस्’, ओलीले भन्नुभयो।
उहाँले ओलीले प्रचण्ड–माधव समूहले संसद पुनर्स्थापनाको खुशीयाली मनाइरहेकोप्रति पनि आश्चर्य व्यक्त गर्नुभयो। प्रचण्ड र माधवकुमार नेपाललाई इंगित गर्दै उहाँले ‘मेरा केही भाइले लड्डु खाए, खुशीयाली मनाए’ तर उनीहरुले के जिते आफूले थाहा नपाएको भन्दै खिल्ली उडाउनुभयो ।
उनीहरुले केही दिनमै फेरि आफ्नो राजीनामा माग्ने बताउँदै ओलीले जस्तोसुकै अवस्थामा पनि आफ्नो ‘देश विकासको संकल्प’ परिवर्तन नहुने बताएर सरकार फेरिने सम्भावना नरहेकोतर्फ संकेत गर्नुभयो।
प्रचण्ड नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अदालतको निर्णयसँगै प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरिरहेको छ । तर ओली पक्षले भने अदालतको फैसला कार्यान्वयन गरिने तर प्रधानमन्त्रीले राजीनामा नदिने बताइरहेको छ ।
आज बसेको स्थायी कमिटि बैठकपछि संवाददाताहरुसँग कुरा गर्दै ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले मुलुकको अवस्था हेरेर मात्रै प्रधानमन्त्रीले निर्णय लिने बताउनुभयो ।
हठात् राजीनामा दिएर देशलाई नेतृत्वबिहीन बनाउन नहुनेमा आफूहरुको जोड रहेको उहाँले बताउनुभयो । ज्ञवालीले पार्टी एकताको सम्भावना पनि जिवितै रहेको संकेत गर्नुभयो ।
यता नेकपाको प्रचण्ड–माधव समूहले भने प्रतिनिधिसभा बैठक अगावै ओलीले राजीनामा नदिए संसदबाट गलहत्याएर निकाल्ने चेतावनी दिएको छ । आज काठमाडौँमा आयोजित विजय जुलसपछिको सभालाई सम्बोधन गर्दै नेतृ पम्फा भुषालले राजीनामा दिएर मार्गप्रशस्त नगरे ओलीलाई गलहत्याएर निकाल्ने चेतावनी दिनुभयो ।
संसद पुनर्स्थापनासँगै अब नयाँ सरकारका लागि सत्ता समिकरणको प्रयास तीव्र भएको छ । प्रचण्ड–माधव समूहले नेपाली कांग्रेसलाई सत्तासाझेदारीको प्रस्ताव गरेको छ ।
राजीनामा नदिने र संसद फेस गर्ने बताएको ओली समूहले पनि संसदमा विश्वासको मत जित्न प्रयास पक्कै गर्नेछ । सामाजिक सञ्जालहरुमा सांसद किनबेच हुने फोहोरी संसदीय खेल फेरि सुरु हुने विषयको चर्चाले व्यापकता पाएको छ ।