विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन अदालतबाट सदर नभए आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताउनुभयो ।
नेकपा ओली समूहले शनिबार विराटनगरमा गरेको आमसभामा ओलीले भन्नुभयो, ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न म भन्न चाहन्छु ।’
कुनै कारण प्रतिनिधिसभा पुनर्स्थापना हुने भयो भने सांसद किनबेच, सरकार बनाउने–ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने उहाँले बताउनुभयो ।
देशलाई अस्थिरतातिर फर्काउने होइन भन्दै उहाँले भन्नुभयो ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संविधानको मर्म र भावना हेरेको होला । मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला।’
प्रतिनिधिसभा विघटन सदर गराउन ‘सेटिङ’ गरिरहेको भन्दै अरू राजनीतिक दलले आरोप लगाइरहेका बेला प्रधानमन्त्रीले भने संसद पुनर्स्थापनाका लागि ‘सेटिङ’ भइरहेको दाबी गर्नुभयो ।
‘कुनै सेटिङ–फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन,’ उहाँले भन्नुभयो । ओलीले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन समेत कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले देश चुनावमा गइसकेको र प्रधानमन्त्रीलाई चुनाव गराउने अधिकार रहेको बताउनुभयो ।