Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

भारत आक्रोशित भएपछि प्रधानमन्त्री ओलीको अभिव्यक्ति सरकारले सच्यायो

भारत आक्रोशित भएपछि प्रधानमन्त्री ओलीको अभिव्यक्ति सरकारले सच्यायो

  • मंगलवार, आषाढ ३० २०७७

  • 762
    SHARES

  • भारत आक्रोशित भएपछि प्रधानमन्त्री ओलीको अभिव्यक्ति सरकारले सच्यायो

    काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालमा जन्मिएको र अयोध्या नेपालमै पर्छ भनी विवादास्पद अभिव्यक्ति दिएपछि अहिले उहाँ आलोचनाको पात्र बन्नुभएको छ । उहाँले राम जन्मभूमि भारतको उत्तर प्रदेशमा नभई नेपालकै ठोरीमा रहेको सोमबार बालुवाटारमै आयोजित एक कार्यक्रमका क्रममा बताउनुभएको थियो ।

    भारतले सांस्कृतिक तथ्य अतिक्रमण गरेको भनी उहाँले दिएको अभिव्यक्तिको सर्वत्र आलोचना भएरहेको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री व्यंग्य र आलोचनाको सिकार बन्नुभएको छ । भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनुभएको थियो ।

    भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादित अयोध्या खडा गरेको ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिपछि पूर्वगृहमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीस्तरबाट यस्ता उट्पट्याङ, अपुष्ट र अप्रमाणित कुरा आउनु अनुपयुक्त भएको बताउनुभएको छ । भारतसँग सम्बन्ध सुधार्नेभन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लागेको उहाँले उल्लेख गर्नुभएको छ ।

    यस्तै पूर्व प्रधानमन्त्री एवं जनता समाजवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले प्रधानमन्त्रीको वचन र कर्मले सीमा नाघ्दै गएको बताउनुभएको छ । अब प्रधानमन्त्री ओलीलाई छाडा छोड्नु खतरनाक हुने उहाँले उल्लेख गर्नुभएको छ ।

    यस्तै पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले धर्म राजनीति र कूटनीतिभन्दा माथि भएकाले प्रधानमन्त्रीको भनाइले लज्जित बनाएको बताउनुभएको छ । पूर्वगृहमन्त्री समेत रहनुभएका सत्तारुढ दलका नेता भीम रावलले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको बताउनुभयो । उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको नक्सामा समेटिएको र त्यहाँबाट भारतीय फौँज हटाउनुपर्ने बेला प्रधानमन्त्रीले अयोध्याको प्रसंग झिकेर विषयान्तर गर्न खोजेको आरोप लगाउनुभयो।

    यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालका राजनीतिक पार्टी, नेता र नेपालीको अपमान र अवमूल्यन नगर्न आग्रह गर्नुभएको छ । आलोचनात्मक चेतबिना तथ्य नहेरी, तात्कालिक क्षणिक स्वार्थमा आधारित भएर जे पनि भन्ने र प्रचार गर्ने प्रवृत्ति त्याग्न उहाँले आग्रह गर्नुभएको हो । राम जन्मभूमि नेपालमै रहेको तर भारतले सांस्कृतिक आक्रमण गरेर नक्कली अयोध्या भारतमा खडा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति लक्षित हुँदै प्रवक्ता श्रेष्ठले यस्तो बताउनुभएको हो । नेता भीम रावलले प्रधानमन्त्रीको अभिव्यक्तिबारे पार्टीमा गम्भीर छलफल हुने बताउनुभयो ।
     
    यस्तै प्रमुख विपक्षी नेपाली कांग्रेसले लिम्पियाधुरा छाडेर अयोध्यातिर ध्यान नमोड्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले राम जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउनुभएको छ । अधिकांशले आलोचना गरिरहेका बेला रामजन्मभूमिबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति जायज रहेको भन्ने चर्चा पनि सुरु भएको छ ।
     
    लेखक लोकमणि पौडेलले आफूले लामो समयदेखि अध्ययन अनुसन्धान गरेर रामजन्मभूमि नेपालमै रहेको विभिन्न लेखहरुमा उल्लेख गरेका बेला प्रधानमन्त्रीले पनि सोही आशय व्यक्त गरेपछि खुशी लागेको प्रतिक्रिया दिनुभयो ।
     
    यस्तै भगवान रामको जन्मस्थान अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीको नेपालमा मात्रै नभई भारतमा पनि तीव्र विरोध भइरहेको छ । भारतको सत्तासिन भारतीय जनता पार्टी (भाजपा)ले ओलीको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरेको छ । प्रधानमन्त्री ओलीले विवादास्पद अभिव्यक्ति दिएको भनि भाजपाले आलोचना तथा निन्दा गरेको हो ।

    यता परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिबारे स्पष्टीकरण दिएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ । प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पु¥याउने आशय नरहेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रधानमन्त्रीले श्रीराम र उहाँसँग सम्वद्ध स्थानबारे धेरै किंवदन्ती रहेको र नयाँ तथ्यहरु प्राप्त गर्न रामायणले प्रतिनिधित्व गर्ने गहन सांस्कृतिक भूगोलको थप अध्ययन, अनुसन्धानको महत्वमाथि जोड मात्र दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    ayothaya.jpg


    मंगलवार, आषाढ ३० २०७७०८:१५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij