काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको खिलापमा कांग्रेसका नेताहरू बोल्न सक्ने भएकोमा धन्यबाद दिएका छन्।
शुक्रबार कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिको भवन उद्घाटन गर्दै देउवाले ओलीको खिलापमा नेताहरू नडराई बोल्न सक्ने भएको र प्रचण्डको खिलापमा पनि बोल्नुपर्ने बताए।
‘ओलीको खिलापमा बोल्ने डर हटिसक्यो धन्यबाद छ। ओलीको खिलापमा बोल्न सक्ने हुनुभएछ,’ मञ्चमा रहेका नेताहरूतर्फ हेर्दै देउवाले भने, ‘अझै प्रचण्डको खिलापमा बोल्न नडराउनुस् है।’
उनले पार्टीका नेता तथा कार्यकर्तासँग नडराउन पनि आग्रह गरेका छन्। ‘डराएर कहीँ हुन्छ। डर हटाउनुस्। चुनावमा भाग लिने जित्ने हो,’ उनले भने।
देउवाअघि बोलेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेकपालाई जनताले बिदा गर्ने दिन आइसकेको बताएका थिए।
नेकपाभित्र पनि ओली समूहलाई जनताले बिदा गर्ने उनको दाबी थियो।