काठमाडौं । नेपाल पर्यटन बोर्डले कोरोनाबाट थलिएको नेपालको पर्यटन पुनरुत्थानका लागि‘रिस्टार्ट, रिभाइभ एन्ड रिस्टार्ट’को नयाँ अवधारणा अघि सारेको छ ।
बोर्डको यो अवधारणा अनुसार पर्यटन क्षेत्र अबको छ महिनाभित्र कोभिडअघिकै अवस्थामा फर्काउने गरी काम गर्न सकिने बोर्डको धारणा छ ।
कारोना पछाडि बोर्डले एक वर्षको अवधीमा गरेका काम र अबको रणनीतिका विषयमा जानकारी दिन बिहीबार बोर्डमा आयोजि सम्मेलनमा बोर्डका प्रमुख कार्यकारी डा.धनन्जय रेग्मीले पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा ब्युँताउन तीन रणनीति आवश्यक भएको बताउनुभयो ।
‘हामीले धेरै स्वास्थ्य मापदण्ड बनार्यौ पहिले खुल्यो भन्ने सन्देश दिनु पर्छ, त्यसपछि यो क्षेत्रमा कन्फिडेन्स कायम गर्नुपर्छ अनिमात्र हामीले यसलाइृ आफुनै लयमा फर्काउन सकिन्छ । यसकै लागि बोर्डले ‘रिस्टार्ट, रिभाइभ एन्ड रिस्टार्ट’ अवधारणा अघि सारेको हो ।’उहाँले भन्नुभयो ।
डा.रेग्मीका अनुसार बोर्डले ३ महिनाभित्र विश्व समुदायलाई नेपाल खुल्ला छ भन्ने सन्देश दिने, त्यसपछिको अर्को तीन महिनामा पर्यटन क्षेत्रलाई पूर्ण तयार पार्ने र ६ महिनापछि पुरानै अवस्थामा फर्काउने रणनीति छ । यसमा राज्य र निजी क्षेत्रसँगै सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारी र कर्तव्य सम्झिनुपर्ने उहाँले बताउनुभयो ।
कोरोनाविरुद्धको खोप नेपालमा समेत आइसकेकोले नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्ने र आन्तरिक पर्यटन प्रवद्र्धन कार्यक्रमबाट कोभिडले थलिएको पर्यटनलाई चलायमान पार्ने बोर्डले जानकारी दिएको छ ।
यसबीचमा बोर्डले नयाँ पूर्वाधारको विकास र विस्तार तथा क्षेत्रगत रुपमा हिमालमा आरोहण र ट्रेकिङ, पहाडमा हिल स्टेसनसहितको पर्यटकीय हब र तराईमा क्यासिनोसहितका पर्यटकीय पूवर्जाधार तथा गतिविधि विस्तार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
यस्तै बोर्डले कोरोनाकालकै बीच बोर्डले पर्यटनसम्बन्धी तथ्यांक अभावको समस्या समाधान गर्न लगानी र जनशक्तिबारे अध्ययन गरेको, महामारीले व्यवसायमा पारेको प्रभाव र सरकारले दिने राहतको लागि सरकारलाई तथ्यांक उपलब्ध गराउनुका साथै पर्यटन तथ्यांकहरुलाई डिजिटल डेटाबेसमा राख्ने गरी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भूगोल विभागमार्फत सञ्चालन गर्न सम्झौता समेत गरेको छ । तथ्यांक संकलनपछि नेपालमा पर्यटकीय आवागमन तथा उसको बसाइलगायतबारे थाहा हुने बोर्डको धारणा छ ।
बोर्डले नेपाली सेनासँग सहकार्य गरी गोरखादेखि काठमाडौंसम्मको एकीकरण मार्ग अध्ययन, गढी र किल्लाबारे जानकारी, सिन्धुलीगढी क्षेत्रको गुरुयोजना, राराताल क्षेत्रको बृहत्तर गुरुयोजना तयार गरी डीपीआरसहितको बृहत्तर गुरुयोजना, युद्ध संग्रहालयको योजना निर्माण, रुकुमको भूमे र सिस्ने गाउँपालिकाको युद्ध संग्रहालयको डीपीआर तयार गरेको छ ।
यसबाहेक बोर्डले पर्यटन पुनरुत्थान गर्न सहज जीवनमा फर्काउन दिगो पर्यटन परियोजनाअनुसार राष्ट्रसंघीय संस्था यूएनडीपी र बोर्डको गरी कुल २५ लाख अमेरिकी डलरको संयुक्त साझेदारीमा परियोजना सम्झौता गरेको जनाएको छ । यस्तै लुम्बिनी, पोखरा, कीर्तिपुरलगायतका पर्यटकीय गन्तव्यको रिब्रान्डिङको काम समेत गरेको सिइओ रेगमीले जानकारी दिनुभयो ।
कोरोनाकालमा बोर्डमै संकट सञ्चार तथा व्यवस्थापन एकाइ सुरु गरको बोर्डले हरेक दिनको अपडेट तयार गरेको, अलपत्र पर्यटकको उद्धारमा सक्रिय भएर ३३ देशका नागरिकको खोजी, सम्पर्कका साथै लुक्ला, पोखरा र अन्य स्थानबाट १७ सय २१ जना पर्यटकको उद्धार गरी काठमाडौं ल्याएको थियो भने उद्धार उडान मार्फत पर्यटकहरुलाई स्वदेश फर्काएको बोर्डले जानकारी दिएको छ ।