काठमाडौँ । बैतडीको दोगडा केदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । अभियुक्त दिनेश भट्टलाई घटनाको १५ दिनपछि प्रहरीले आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो।
हालसम्मको अनुसन्धानले भागरथीका सहपाठी दिनेश नै अभियुक्त रहेको देखाएको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले बताउनुभयो ।
‘अहिलेसम्मको अनुसन्धानले यही देखाउँछ । हामी थप अनुसन्धान गर्दैछौं, पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।
गत माघ २१ गते (बुधवार) विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा १७ वर्षिया किशोरी भागरथीको बलात्कारपछि हत्या भएको थियो ।
प्रहरीले सार्वजनिक गरेका अभियुक्त भट्ट भागरथी अध्ययनरत स्थानीय सनातन धर्म माविको कक्षा ११ मा पढ्ने किशोर हुन् । भागरथी सोही विद्यालयको कक्षा १२ मा व्यवस्थापन संकायमा अध्ययनरत थिइन् ।