Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

असमका यी ‘गोर्खा नेता’ जो दिनहुँ ५०० जना लिएर मर्निङवाक गर्छन् !

असमका यी ‘गोर्खा नेता’ जो दिनहुँ ५०० जना लिएर मर्निङवाक गर्छन् !

  • मंगलवार, फाल्गुण ४ २०७७

  • 1.1K
    SHARES

  • असमका यी ‘गोर्खा नेता’ जो दिनहुँ ५०० जना लिएर मर्निङवाक गर्छन् !

    एजेन्सी । मर्निङवाक गर्नु स्वास्थ्यका लागि धेरै राम्रो हो । आफू पनि गर्नु अनि अन्य मानिसलाई पनि गर्न लगाउनु वा सँगै लिएर हिड्नु झनै राम्रो हो । तर आफूसँग सँगै पाँच सयदेखि हजारजना मानिसलाई साथमा लिएर मर्निङवाक गर्नु भनेको लरोतरो कुरा होइन । हो, मर्निङवाक गरेरै चर्चामा आएका छन् भारतको असमका गोर्खा नेता (नेपाली मुलका नेता) किशोर उपाध्याय ।

    KISHORE-UPADHYAYA-MORNIGN-WALK-4-300x255.jpg

    उपाध्याय भारतीय जनता पार्टी (भाजपा)का असम प्रदेशका सचिव हुन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बरसोला विधानसभा क्षेत्रका टिकट प्रत्याशी उपाध्याय गत केही महिनादेखि स्थायी रूपमै गुवाहाटी छोडेर आफ्नै विधानसभा क्षेत्र बरसोलाअन्तर्गत ठेलामारामा बस्दै आएका छन् । उनी सधैं मर्निङवाकमा जान्छन् । तर एक्लै वा १०–२० जनामात्र लिएर होइन उनीसँग मर्निङवाकमा हरेकदिन पाँच सयदेखि हजार मानिस हुने गर्छन् । सधैं कम्तीमा पनि १० किलोमिटर मर्निङवाक गर्ने उपाध्यायसँग साना नानीदेखि लिएर महिलाहरू पनि हुने गर्दछन् ।

    आफ्नो मर्निङवाकले अन्तराष्ट्रिय चर्चा पाएको विषयमा उनी भन्छन्, ‘शुरूमा म एक्लै हिंड्ने गर्थेँ, हुँदा हुँदै एक–दुई जना जोडिन थाले । अनि भाजपाका प्रदेश अध्यक्ष रञ्जीत दासले कार्यकर्ताहरूलाई स्वस्थ रहनका लागि सधैं मर्निङ वाक र व्यायाम गर्नका लागि आह्वान गर्नुभयो’, उनी भन्छन्, ‘मैले प्रदेश अध्यक्षका कुरा जनता र कार्यकर्ता हरूसामु राखें । यसले गर्दा १०, २०, ५० थपिँदै अहिले ४०० देखि ५०० सम्म मानिस हुन थालेका छन् ।

    KISHORE-UPADHYAYA-MORNIGN-WALK-2-300x135.jpg

    उपाध्यायका अनुसार दुई–दुई दिनको अन्तरमा अहिले उनी प्रत्येक पञ्चायत इलाकाका कार्यकर्ताहरूसँग मर्निङवाक गर्ने गर्छन् ।

    अहिलेसम्म बरसोलाका २० वटा गाउँ पञ्चायतमध्ये १६ वटामा मर्निङ वाक गरिसकेको तर सधैं विभिन्न गाउँ पञ्चायत पुगेर मर्निङ गरिदिनका लागि कार्यकर्ताहरूले आग्रह गरिरहेको भए पनि सबैलाई समय दिन नसकेको उनी बताउँछन् ।

    ‘मानिसले यो यति सानो कुरामा यति धेरै साथ दिन्छन् भन्ने सोचेको पनि थिइनँ’, उनले भने ।

    उपाध्यायका अनुसार, चुनावको समय र त्यसपछि पनि यो क्रम जारी रहनेछ ।

    ‘प्रधानमन्त्री नरेन्द्र मोदीको फिट इण्डिया मुवमेन्टलाई बरसोला विधानसभा क्षेत्रमा पूर्ण रूपमा लागू गरिनेछ’, उनले भने, ‘र पछि गएर यसलाई हेल्थ क्लब आदि गठन गर्ने पनि लक्ष्य छ ।’

    KISHORE-UPADHYAYA-MORNIGN-WALK-2-2-300x135.jpg

    नेता उपाध्याय कुनै सयम गुवाहाटी उच्च न्यायालयमा अधिवक्तासमेत थिए । तर, अहिले वकालती छोडेर राजनीतिमा पूर्णकालिक भूमिका निभाइरहेका छन् । वर्तमान बरसोलामा भाजपाकै गणेश लिम्बू विधायन छन् । अहिले टिकट प्रत्याशीको दौडमा लिम्बू र उपाध्याय दुवैजना शामेल छन् ।

    चुनाव र राजनीति जे भए पनि उपाध्यायको मर्निङवाकले समग्र असममा चर्चा पाएको त्यहाँका स्थानीय मिडियाहरुले जनाएका छन् ।


    मंगलवार, फाल्गुण ४ २०७७०३:०७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij