काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) को सञ्चार तथा अनुसन्धान परामर्शदाताको रुपमा पत्रकार तथा उपप्राध्यापक टी.पी भुसाल नियुक्त हुनुभएको छ ।
अढाई दशकदेखि पत्रकारिता, प्राध्यापन, विभिन्न प्रशिक्षण तथा परामर्शमा संलग्न भुसाल यसअघि नेपाल पर्यटन बोर्डको सञ्चार परामर्शदाताको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
उहाँले पर्यटन बोर्डसंगै युएनडीपी र बोर्डको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानको लागि दीगो पर्यटन परियोजना (एसटएिलआरपी) का लागि पनि सञ्चार सहजकर्ताको भूमिकामा रहेर काम गर्नुभएको थियो ।
विभिन्न रेडियो, टेलिभिजन तथा पत्रपत्रिकामा रहेर पत्रकारिता गरिरहेका भुसालले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र÷मावनशास्त्रमा स्नातकोत्तर तथा अर्थशास्त्र र कानूनमा स्नातक गरेका छन भने पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्नुभएको छ ।
पत्रकार भुसाल पत्रकारिताको क्षेत्रमा नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट पहिलो गणतन्त्र दिवसमा प्रवल जनसेवा श्री विभूषणबाट विभुषित पहिलो पत्रकार समेत हुनुहुन्छ ।
उहाँले त्रिभुवन विश्वविद्यालय अन्तर्गत डिल्लीबजार कन्या बहुमुखी क्याम्पस तथा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका पोलिगन कलेज र सेफर्ड कलेज, कलेज अफ जर्नालिज्म तथा मास कम्युनिकेशन (सिजेएमसी) लगायतका कलेजमा आमसञ्चार तथा पत्रकारिता, सञ्चार कानून, पर्यटन र सञ्चार तथा समाजशास्त्र लगायतका विषयहरु अध्यापन गराउँदै आउनुभएको छ ।
नेपाली रेडियो नेटवर्कमा कार्यक्रम अर्थसम्वादका उत्पादक तथा प्रस्तोता समेत रहेका भुसालसँग रेडियो मदनपोखरा, बुटवल एफ.एम, तिनाउ एफ.एम, रुपन्देही एफ.एम, सिद्धार्थ एफ.एम, एभिन्युज टेलिभिजन, नेशनल टेलिभिजन, नयाँ दिशा दैनिक, बुटबल एक्स्प्रेस, गोरखापत्र दैनिक आर्थिक अभियान दैनिक लगायतका नेपाली सञ्चारमाध्यम तथा भारतको जागरण दैनिक , हिन्दुस्तान टाइम्सममा समेत नेपाल प्रतिनिधीका रुपमा काम गरेको अनुभव छ ।
गुल्मीका स्थायी बासिन्दा र रुपन्देहीलाई कर्मथलो बनाएर पत्रकारिता गरेका भुसाल पछिल्लो समय काठमाडौमा रहेर पत्रकारिता, प्राध्यापन तथा प्रशिक्षणमा कृयाशील हुनुहुन्छ । भुसालले महासंघमा रहेर नेपालको आर्थिक क्षेत्रको अध्ययन अनुसन्धान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार समन्वय तथा प्रचारप्रसार लगायतको काम गर्नुहुनेछ ।