काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीभित्रबाट समानान्तर सत्ता सञ्चालनको प्रयास र कोरोना महामारीको त्रासदीकाबीच आफू नेतृत्वको सरकारले दुनियाँ चकित पार्ने गरी उपलब्धी हासिल गरेको दाबी गर्नुभएको छ ।
सरकार गठन भएको तीन वर्षका उपलब्धी सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले इतिहासमै नभएका कामहरु आफ्ना पालामा भएको दाबी गर्नुभयो ।
यस क्रममा प्रधानमन्त्री ओलीले विगतमा वर्षमा १० किलोमिटर पनि सडक कालोपत्रे नहुने गरेकोमा आफू नेतृत्वको सरकार गठन भएपछि प्रतिदिन पाँच किलोमिटर भन्दा बढी सडक कालोपत्रे भइरहेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले व्यक्त गरेको चुनावी प्रतिवद्धताहरु सबै पूरा हुने क्रममा रहेको फेहरिस्त सुनाउनुभयो ।
तर प्रमुख विपक्षी नेपाली कांग्रेसले भने ओली सरकार गठन भए यताका सुन्दर तीन वर्ष देशले खेर फालेको टिप्पणी गरेको छ । कांग्रेसले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार पूर्णतः असफल भएको प्रतिक्रिया दिएको हो ।
इतिहासका सुन्दर तीन वर्ष सरकारले खेर फालेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो । अनुकुल राजनीतिक परिस्थिति भएर पनि इतिहासको सबैभन्दा बलियो भनिएको सरकार प्रधानमन्त्रीको अयोग्यताको कारणले असफल भएको उहाँले बताउनुभयो ।
सरकारले ३ वर्षमा ३ उपहार दम्भ, द्वन्द र भ्रष्टाचार जनतालाई दिएको शर्माको भनाइ छ ।
आज सरकारका उपलब्धी सुनाउन आयोजित प्रेस ब्रिफिङका क्रममा सुरुवाति एक घण्टा ओलीले संसद विघटन गर्नुपर्नाका कारणबारे प्रष्ट पार्न खोज्नुभएको थियो । पार्टीभित्रैबाट समानान्तर सत्ता सञ्चालनको प्रयास गरेर समृद्धिको मार्गमा हिँडिरहेको सरकारलाई वाधा पु¥याउने काम गर्न जोखिएपछि संसद विघटन गरेर ताजा जनादेशमा जानु पर्ने अवस्था आइलागेको प्रधानमन्त्रीले बताउनुभयो ।
पार्टीभित्रैबाट असहयोग भए पनि सरकारले विकासको गति कम नगरेको ओलीको दाबी छ । तर विज्ञहरुले भने ओलीको यो दाबी मान्न तयार छैनन् ।
राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले सरकारको उपलब्धीलाई मध्यम भन्दा पनि कम नम्बर दिन सकिने बताउनुभयो । जनताको विश्वासमाथि नेकपाको सरकारले आफै हमला गरेको उहाँको भनाइ छ ।
अघिल्लो वर्ष सरकार गठन भएको दुई वर्षका उपलब्धीको बखान गर्दै प्रधानमन्त्री ओलीले पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को निर्वाचनमा जाँदा तपाईँ हामीले देख्ने सपना अर्के हुने बताउनुभएको थियो । तर स्थायीत्वको नारा विपरीत कार्यकालको तीन वर्षमै ओली सरकारले संसद विघटन गरेर अर्काे चुनावको घोषणा गरेको छ ।
यो राजनीतिक परिघटनालाई कम्युनिष्ट पार्टीको सरकारले जनतालाई निमर्म धोका दिएको रुपमा अर्थ लगाउन थालिएको छ ।