काठमाडौं । २५ वर्षअघि ‘जनयुद्ध’ सुरु भएको दिनको सम्झनामा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले ‘जनयुद्ध’ दिवस मनाउँदै छ ।
२०५२ साल फागुन १ गते औपचारिक रुपमा तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’ को सुरुवात गरेको थियो । तीन वर्षअघि तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नयाँ दल नेकपाले यसअघि एकीकृत रुपमा ‘जनयुद्ध’ दिवस मनाएको थियो । तर, आज भने नेकपामा आएको विभाजनका कारण दाहाल–नेपाल समूहमात्रै ‘जनयुद्ध’ दिवस मनाउन लागेको छ ।
दाहाल–नेपाल समूहले केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले ९ बजे विभिन्न आन्दोलन र ‘जनयुद्ध’ मा सहिद भएकाहरूको स्मृतिमा सभा आयोजना गर्दै छ ।
कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विभिन्न शीर्ष नेताको सहभागीता रहने तर अर्का अध्यक्ष माधवकुमार नेपालको उपस्थिति नहुने दाहाल–नेपाल समूहका नेताहरुले जनाएका छन । उहाँ धनकुटामा रहेकाले ‘जनयुद्ध’ दिवसको अवसरमा आयोजना हुन गइरहेको कार्यक्रममा उपस्थित हुन असमर्थ रहने बताइएको छ ।
पेरिसडाँडाले ‘जनयुद्ध’ दिवसको अवसरमा ‘सहिद स्मृति तथा सम्मान कार्यक्रम’ को ब्यानरमा आफ्नो अनुकूलतामा सबै जिल्लालाई कार्यक्रम आयोजना गर्न आह्वान गरेको छ ।
२०५२ फागुन १ गतेबाट सशस्त्र हिंसा सुरु गरेको दिनलाई तत्कालीन माओवादीले ‘जनयुद्ध’ दिवसका रूपमा मनाउँदै आएको छ । १० वर्षसम्म चलेको हिंसात्मक शसस्त्र विद्रोहका क्रममा झण्डै १७ हजार नेपालीको ज्यान गएको थियो ।