काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले हिरासतमुक्त गरेको छ। राज्यविरुद्धको कसुर गरेको अभियोगमा आज बिहान उहाँकै निवासबाटै गिरफ्तार गरिएकी झाँक्रीलाई प्रहरीले अबेर साँझ हिरासतमुक्त गरेको हो ।
हिरासतमुक्त भएपछि नेतृ झाँक्रीले आफू अभिव्यक्ति स्वतन्त्रताका पक्षमा लडिरहने बताउनुभयो । कसैले पनि जाहेरी नदिएको अवस्थामा आफू पक्राउ परेको र यसमा कार्यकारी प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रत्यक्ष दबाब रहेको उहाँले बताउनुभयो । प्रतिगमनविरुद्धको आन्दोलनलाई निषेध गर्न आफूलाई पक्राउ गरे पनि देशभरीबाट भएको विरोधपछि सरकार पछि हट्न बाध्य भएको नेतृ झाक्रीले बताउनुभयो ।
आज झाँक्रीलाई पक्राउ गरिएपछि सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन गरेको भन्दै चौतर्फी विरोध भएको छ । सामाजिक सञ्जालहरुमा सरकारको व्यापक आलोचना भइरहेको छ । झाँक्री पक्राउ प्रकरण ओली सरकार पतन हुने निर्णायक घटना हुन सक्ने वरिष्ठ पत्रकार युवराज घिमिरेको कथन छ । नियमित स्तम्भ शून्य समयमार्फत उहाँले आफ्नो पक्षबाट भएका अमर्यादीत अभिव्यक्तिलाई बेवास्ता गर्ने र अर्काे पक्षबाट भएका उस्तै अभिव्यक्तिलाई राजनीतिक प्रतिशोधका रुपमा प्रयोग गरेका घटना ओली सरकारका लागि सत्ता पतनको निर्णायक कदमहरु सावित हुन सक्ने उहाँले बताउनुभयो ।
केही दिन पहिले गोरखामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध बोलेको भनेर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा आबद्ध महिला नेतृहरूले झाँक्रीलाई पक्राउ गर्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका थिए । झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि राजनीतिक हिंसा गरेको कतिपय महिला अधिकारकर्मीहरुको भनाई छ । पत्रकार बबिता बस्नेतले राष्ट्रपतिविरुद्ध गोरखामा नेतृ झाक्रीले दिएको अभिव्यक्तिलाई एक अर्थमा राजनीतिक हिंसाका रुपमा लिन सकिने टिप्पणी गर्नुभयो ।
अहिले सडकमा भइरहेको प्रदर्शन र मञ्चबाट नेताहरुले व्यक्त गरिरहेका अभिव्यक्तिले सामाजिक मर्यादाको सीमा नाघीरहेका छन् । अमर्यादित अभिव्यक्ति दिने नेताहरुको सूचि तयार पार्ने हो भने शीर्ष स्थनामा प्रधानमन्त्री ओली आफै पर्न सक्ने स्थिति छ । लामो समयदेखि सडकमा राजनीतिक संस्कार नदेखिएकोले त्यसमा सुधार ल्याउन दलहरुले भूमिका खेल्नसके उचित हुने पत्रकार घिमिरेको भनाई छ ।
हिजो कम्युनिष्ट नेता मदन भण्डारीले राजा वीरेन्द्रलाई राजनीति गर्ने हो भने श्रीपेच खोलेर मैदानमा आउन चुनौती दिनुभएको थियो । आज उस्तै गरी राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेतृ झाँक्रीले राजनीति गर्ने भए चुनावी मैदानमा आउन चुनौती दिनुभयो । यसक्रममा झाँक्रीबाट व्यक्त भएका केही शब्दहरुले राष्ट्रपति भण्डारीमाथि अवश्य चोट पुगेको छ । तर यस्ता अभिव्यक्तिको सिको दोस्रो पुस्ताका नेताहरुले कहाँबाट गरिरहेका छन् त्यसको लेखाजोखा हुनैपर्छ ।