काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्ने चेतावनी दिएका छन्।
नेकपा दाहाल–नेपाल समूहले राजधानीमा बुधबार गरेको शक्ति प्रदर्शनमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी जी, अर्को पटक फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस्।’
साथै उनले निर्वाचन आयोगलाई खुट्टा नकमाउन आग्रह गरेका छन्। उनले जनताको आवाज सबैले सन्नुपर्नेमा उनले जोड दिए। प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे।
प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले माघ ९ मा गरेको सभा गरेको दिन ओलीले सभा भनेको कस्तो हुन्छ माघ २३ गते देखाउने बताएका थिए।
त्यसअनुसार ओली समूहले काठमाडौँमा शक्ति प्रदर्शन गरेको थियो । बुधबार आफ्नो समूहले गरेको सभामा प्रचण्डले फेरि ओलीलाई प्रतिउत्तर दिएका छन् ।
आफूहरुले गरेको प्रदर्शनमा ५ लाख मानिस सहभागी भएको सूचना आएको भन्दै उनले भने, ‘केपीजी देख्नुभयो सभा कस्तो हुन्छ? देख्नुभयो विरोध कस्तो हुन्छ?’
उनले अब सिंहदरबार र बालुवाटार घेर्न लाखौँ जनता जम्मा पार्ने पनि चेतावनी दिए। प्रचण्डले आजको उपस्थितिले अदालतलाई पनि सहज भएको टिप्पणी गरे।
‘यो उपस्थितिले अदालतलाई सहज भएको छ। संविधानको पक्षमा लोकतन्त्रको पक्षमा फैसला गर्न’ उनले भने।