काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्ट मृत अवस्थामा भेटिएको आज ६ दिन बितिसकेको छ ।
६ दिन बितिसक्दापनि नेपाल प्रहरीले अहिले सम्म दोषी पत्ता लागाउन सकेको छैन् । मृतकका परिवारले दोषी पत्ता नलागेसम्म शव नबुझ्ने अडान लिएका छन् ।
नेपाल प्रहरीले भने दोषीलाई दण्डित गर्न अनुसन्धानको दायरा साँघुरो बनाइसकेको जनाएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै नेपाल प्रहरीका प्रवक्ता (एसएसपी) बसन्त कुँवरले भन्नुभयो,“हामीले यो बलात्कारको घटनाको अनुसन्धान गहनरुपमा गरेका छाँै, प्राविधिक हिसाबमा सबै किसिमको संयन्त्र प्रयोग गरेका छौँ, अनुसन्धानको लागी समय लाग्ने भएकाले सवै तह र तप्काका मानिसले तथष्ट बसेर सहयोग गर्न म अनुरोध गर्छु, अहिले बाहिर अनावश्यक हल्ला फैलिएकोले त्यस्तो हल्ला नफैँलाई प्रहरीलाई तपाईहरु सहयोग गर्नुस्, अपराधी ढिलो चाँडो पत्ता लाग्छ ।”
एसएसपी कुँवरले प्रहरीको मनोबल उच्च पार्ने गरी सहयोग गर्न सबैलाई अनुरोध समेत गर्नुभएको छ ।
उहाँले नेपाल प्रहरीले कसैको दबाबमा काम नगर्ने बताउँदै निर्मला पन्तको जस्तो यो घटना नहुने आश्वासन समेत दिनुभएको छ । अपराधी कुनैपनि हालतमा उम्कन नसक्ने एसएसपी कुँवरको दावी छ ।