Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

के प्रचण्डले भनेझैँ कांग्रेस संयुक्त आन्दोलनका लागि तयार भएको हो?

के प्रचण्डले भनेझैँ कांग्रेस संयुक्त आन्दोलनका लागि तयार भएको हो?

  • सोमवार, माघ २६ २०७७

  • 1.5K
    SHARES

  • के प्रचण्डले भनेझैँ कांग्रेस संयुक्त आन्दोलनका लागि तयार भएको हो?

    काठमाडौँ – नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले फागुन पहिलो सातादेखि नेपालमा संयुक्त आन्दोलन सुरु हुने दाबी गरे पनि विपक्षी दलका नेताहरुले त्यसको कुनै सम्भावना नरहेको बताएका छन्।

    अध्यक्ष प्रचण्डले संसद विघटनविरुद्ध फागुन पहिलो सातादेखि सबै दलहरुको संयुक्त आन्दोलन सुरु हुने र त्यसले केपी ओलीलाई बढार्ने दाबी गर्दै आउनुभएको छ । विपक्षी दलहरुसँग लगातार छलफल भइरहेको र सम्भवतः फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन सुरु हुने प्रचण्डको दाबी छ ।

    तर प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने संयुक्त आन्दोलनमा पार्टीले भाग नलिने बताएको छ । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले अहिलेसम्मका सबै संयुक्त आन्दोलनमा कांग्रेसलाई घाटा भएकाले अब त्यो भुल गर्ने पक्षमा कांग्रेस नरहेको बताउनुभयो । उहाँले संसद विघटनविरुद्धको आन्दोलनमा कांग्रेसले एक्लै संघर्ष गर्ने बताउनुभयो ।

    यसअघि कांग्रेसको संस्थापन पक्षले संयुक्त आन्दोलनमा नजाने बरु चुनावको तयारी गर्ने बताइरहेका थियो । तर पौडेल समूहले भने पहिले संसद पुनस्र्थापनाका लागि संघर्ष गर्ने बताइरहँदा महामन्त्री कोइरालाले संयुक्त आन्दोलनमा जान नहुने बताउनुभएको हो ।

    देउवासँग नजिकिएको चर्चा चलिरहेका बेला महामन्त्री कोइरालाको संसद विघटनका विषयमा दिएको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्र तरंग पैदा गरेको छ । यता नेकपाका नेताहरुले भने संयुक्त आन्दोलनका लागि कांग्रेसलाई फकाउन छाडेका छैनन् ।

    नेता रघुजि पन्तले संसद पनि पुनस्र्थापना नहुने र चुनाव पनि नहुने अवस्था सृजना हुने भएकोले संघर्षका लागि खुट्टा नकमाउन कांग्रेसलाई आग्रह गर्नुभयो ।

    नेकपा प्रचण्ड–माधव समूहले संयुक्त आन्दोलनका लागि प्रमुख विपक्षी कांग्रेससँगै जनता समाजवादी पार्टीसँग पनि वार्ता गरिरहेको छ । प्रचण्डको दाबी मान्ने हो भने जसपा पनि फागुन पहिलो सातादेखि संयुक्त आन्दोलनमा जान लगभग तयार छ ।


    तर जसपा नेता लक्ष्मणलाल कर्ण भने संयुक्त आन्दोलनबारे जुट्दै गरेको सहमतिबारे जानकार नरहेको बताउँनुहुन्छ । यद्यपि संयुक्त आन्दोलनमा गए राम्रो हुने उहाँको भनाई छ ।

    संसद विघटन गरेर संविधानलाई ध्वस्त पार्न खोजेको भन्दै नेकपाको प्रचण्ड–माधव समूह लगायत विपक्षी दलहरु छुट्टाछुट्टै आन्दोलनमा छन् । तर उनीहरुबीच संयुक्त आन्दोलनका लागि सहमति जुट्न सकेको छैन ।

    नेकपा प्रचण्ड नेपाल खेमाले बुधबार काठमाडौँमा जनसभा गर्दैछ । यो जनसभालाई समूहका नेताहरुले निर्णायक आन्दोलनको संज्ञा दिएका छन् ।


    सोमवार, माघ २६ २०७७०७:५३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij