काठमाडौं । नेकपाको प्रचण्ड–माधव समूहले गरेको एक दिने हड्ताल मुलुकभर जारी छ । यसैबीच, कार्यकर्ता र प्रहरीबीच जनकपुरमा झडप भएको छ । झडपका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।
प्रचण्ड–माधव समूहका नेता–कार्यकर्ताले स्थानीय शिव चोकमा गुडिरहेको भ्यानलाई रोक्न खोज्दा प्रहरीले बल प्रयोग गरेको हो । सोक्रममा प्रहरीले लाठी प्रहार पनि गरेको थियो ।
प्रहरीको लाठी प्रहारबाट नेकपाका नेता एवं पूर्वसांसद रामचन्द्र झासहितका ११ जना नेता–कार्यकर्ता घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको स्रोतले जनाएको छ ।