काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले टेलिकम वायरलेस प्रविधिलाई प्राथमिकतामा राख्दै डिजिटल नेपाल बनाउने दिशामा लागेको बताउनुभएको छ ।
डिजिटल नेपाल बनाउने सरकारको परिकल्पना अनुरुप अहिले देशमा विभिन्न पूर्वाधार निर्माण देखि वायर लेस प्रविधि जडान लगायतका काम भइरहेको उहाँले जानकारी दिनुभएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले दुगर्ममा कहिलेकाँही मौसमका कारण नेटवर्क उपलब्ध नहुने गरेको तथ्यलाई स्वीकार्दै टेलिकमको सेवा विस्तार गर्ने योजना सुनाउनुभएको हो ।
कोरोनाको समयमा नेटवर्क र इन्टरनेटमा कुनै किसिमको समस्या नआएको र त्यसैलाई यथावत राख्न टेलिकमले ध्यान दिएको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभएको छ ।
पछिल्लो चार महिनामा फाइबरमार्फत इन्टरनेट सेवा दिनेमा टेलिकम सबैभन्दा अगाडी भएको र फोर–जी सेवा विस्तारमा केन्द्रीत रहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।
सरकारी नीति नियम र प्रक्रियाको पालना गरेर प्रविधि विस्तार गर्दा नीजि क्षेत्रभन्दा पछि देखिएपनि वास्तवमा टेलिकम अत्याधुनिक प्रविधिमैत्री बन्दै गएको प्रबन्ध निर्देशक अधिकारीको भनाइ छ ।