काठमाडौँ – नेकपाको प्रचण्ड नेपाल समूहले भोलि घोषणा गरेको देशव्यापी आमहड्ताललाई सत्तामा रहेको ओली समूहले माघ २३ को जनसभा बिथोल्ने प्रयासको रुपमा बुझेको छ।
केपी ओलीप्रति जनताको अपार समर्थन जुट्दै गएपछि आत्तिएको प्रचण्ड–नेपाल समूहले बृहत जनसभालाई बिथोल्ने प्रयास स्वरुप त्यसको अघिल्लो दिन आमहड्ताल घोषणा गरेको ओली समूहका नेताहरुले आरोप लगाएका छन्।
नेकपा ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले केपी ओलीप्रति उर्लिँदै गएको जनसमर्थनले प्रचण्ड र माधव नेपालहरु हतोत्साहित भएको बताउनुभयो।
यता नेकपाको दाहाल–नेपाल समूहले भने सरकारी गुण्डाराज अन्त्य गर्नका लागि आमहड्तालसहितका संघर्षमा उत्रनु परेको बताएको छ । संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोधमा भोलि आमहड्तान गर्नुपर्ने अवस्था सिर्जना भएको नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
आमहड्ताल गर्नु आफूहरुको बाध्यता भएको श्रेष्ठले बताउनुभयो । लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध सरकार अघि बढेको भन्दै ओली सरकारविरुद्ध सशक्त आन्दोलन गर्नुपर्ने श्रेष्ठको भनाइ छ । उहाँले आमहड्ताल शान्तिपूर्ण हुने दाबी गर्नुभयो ।
यसैबीच गृहमन्त्रालयले पर्सी काठमाडौँमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको शक्ति प्रदर्शन कार्यक्रममा सहभागी हुन बाहिर जिल्लाबाट आउने मानिसलाई जसरी पनि ल्याउन सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूहले भोलि नेपाल बन्दको घोषणा गरेपछि गृहमन्त्री रामबहादुर थापा बादलले आज दिउँसो सुरक्षा निकायका प्रमुखलाई बोलाएर त्यस्तो निर्देशन दिनुभएको हो ।
उपत्यका बाहिरबाट हजारौँको संख्यामा मानिसहरु काठमाडौँ आइरहेको र उनीहरुलाई शुक्रबार बिहानसम्म जसरी पनि काठमाडौँ आइपुग्ने व्यवस्थापन गर्न गृहमन्त्री बादलले सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो । गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले शान्ति सुरक्षा कायम गर्न मातहतका निकायलाई निर्देशन दिइसकिएको बताउनभयो ।
श्र्रोतका अनुसार नेकपाका ओली समूहले तराईँका हरेक जिल्लाबाट कम्तीमा १० हजार मानिस काठमाडौँमा ल्याउने तयारी गरेको छ । सुरक्षा निकायले बिहीबार हुने नेपाल बन्द हिंसात्मक हुने निष्कर्ष निकाल्दै संयम भएर व्यवस्थापन गर्न मातहतलाई सर्कुलर जारी गरेका छन् ।
यसैबीच सत्तामा रहेको नेकपाका युवा नेताहरुले काठमाडौँको जनसभामा सहभागी हुन आउनेहरुलाई अबरोध गर्न खोजिए प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।
ओली समूहको अनेरास्ववियूका संयोजक ऐन महरले २३ गते केपी ओली नेतृत्वको नेकपाले आयोजना गर्ने जनसभा र त्यसमा सहभागी हुने जनतालाई अवरोध गर्ने उद्देश्यले प्रचण्ड माधव नेपाल पक्षले आमहड्ताल घोषणा गरेको आरोप लगाए।
महरले जनतालाई तर्साउने र अवरोध गर्ने हर्कत जारी राखिए त्यसको प्रतिवाद हुने समेत बताएका छन्। महरले २३ गतेको जनसभामा सहभागी हुन आउनेलाई कहिँ कतै अवरोध भए सैह्य नहुने चेतावनी दिए।
उनले भने, ‘हिम्मत भए जनताकामाँझ आउन म मार्चण्ड गुटलाई चुनौती दिन चाहन्छु । २३ गतेको जनसभामा सहभागी हुन आउनुभएका जनतालाई यदि कुनै पनि ठाउँमा अवरोध गरिए अनेरास्ववियूले त्यसको ठाउँको ठाउँ प्रतिवाद गरिने जानकारी गराउन चाहन्छु । त्यसैले जनसभामा ढुक्कका साथ सहभागी हुन सम्पूर्ण जनसमुदायलाई हार्दिक अपिल गर्दछु । साथै देशै भरिका अनेरास्ववियूका सम्पूर्ण कार्यकर्ता साथिहरुलाई आ आफ्नो जिल्लामा काठमाडौँको जनसभामा आउनुहुने जनताको सुरक्षार्थ खटिन निर्देशन गर्दछु।’