काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । यसैबीच, प्रतिनिधिसभा विघटनका सम्बन्धमासरकारी पक्षको बचाउ गर्दै आज महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले एउटा गीतको बोल सुनाएँ । त्यो थियो, प्रकाश पौडेलले गाएको चर्चित गीत ‘नाइँ मलाई त्यही केटी चाहिन्छ ।
सरकारका तर्फबाट बहस गरिरहेका खरेलले उक्त गीतको बोललाई निवेदकहरुको जिकिरसँग तुलना गर्दै एउटा किस्सा पनि सुनाए ।
‘बाबुआमाले आफ्नो छोरालाई हुर्काइ–बढाइ गरेर विवाहका लागि योग्य बनाउँछ तर उसले यो गीतको बोलझैं आफूले मन पराएको त्यही केटी चाहिन्छ भनेर जिद्दी गरेजस्तो उहाँहरुलाई त्यही प्रतिनिधिसभा किन चाहिएको हो ?’ उनले भने, ‘ताजा जनादेशमा गएर अर्को प्रतिनिधिसभा गठन गर्न किन नमिल्ने ?’
गत माघ १४ गते इजलासमा निवेदकका पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले अञ्जु पन्तको गीत ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ गीत सुनाएर सरकारलाई प्रश्न गरेका थिए । सोही सन्दर्भमा आज महान्यायाधिवक्ता खरेलले ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ बोलको गीत सुनाएर जवाफ दिएका हुन् ।
वरिष्ठ अधिवक्ता घिमिरेले तत्कालीन माओवादीहरु शान्ति प्रक्रियामा आएर संविधानसभाको दुईवटा निर्वाचनपछि संविधान बनाएर मुलुकलाई शान्ति र स्थायित्वको दिशामा अघि बढाइएको भए पनि त्यत्रो मेहनत गरेर बनाएको संविधान र त्यसबाट प्राप्त उपलब्धि मेट्ने प्रयासस्वरुप प्रतिनिधिसभा विघटन गरिएको जिकिर गरेका थिए ।
जनताको ७ दशक लामो एजेण्डा सार्थक हुँदै संविधानसभाबाट संविधान बनाइए पनि उक्त संविधानलाई संकटमा पार्नेगरी प्रतिनिधिसभा विघटन गरिएको भन्दै उनले ‘न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई’ गीतको अवस्थामा पुर्याइएको उनको जिकिर थियो ।
महान्यायाधिवक्ता खरेलले भने सो गीतको मर्म नै नबुझी इजलासमा त्यसलाई उद्धृत गरिएको तर्क गरेका छन् । । सोमबार सरकारका पक्षबाट बहस थालेका महान्यायाधिवक्ता खरेलले मंगलबार खाजा समयअघि आफ्नो बहस टुङ्ग्याएका छन् ।
खाजा समयपछि वरिष्ठ अधिवक्ता सुशील पन्तले सरकारका पक्षबाट बहस गर्ने जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपतिले संसद् विघटन गरेपछि त्यसमाथि सर्वोच्चका रिटहरु परेका छन् त्यसविरुद्ध सुनुवाइ जारी छ ।