काठमाडौं । नेकपाको दाहाल नेपाल समूहले काठमाडौमा शक्ति प्रदर्शनको तयारी गरिरहेका बेला ओली समूहले भने काठमाडौका विभिन्न नगर तथा गाउँ कमिटिहरुमा भेलाको आयोजना गरेको छ।
दाहाल नेपाल समूहको कार्यक्रममा सहभागी हुन बाधा पुग्नेगरी आफ्ना कार्यकर्ताहरुलाई आफ्नै कार्यक्रममा अल्मल्याउन ओली समूहले स्थानीयस्तरका भेलाहरुको आयोजना गरेको हो ।
ओली समूहको चन्द्रागिरी नगर कमिटी, काठमाडौले अगुवा कार्यकर्ता भेला तथा सपथ ग्रहण कार्यक्रम तय गरेको छ । विहान ११ बजेपछि सतुंगल पार्टी प्यालेस, सतुंगलमा हुने गरी कार्यक्रम तय भएको जनाइएको छ ।
त्यसैगरी कागेश्वरी मनोहरा नगर कमिटीले नगर स्तरीय कार्यकर्ता भेला गर्न लागेको छ । ब्यञ्जन पार्टी प्यालेस, थलीमा दिउसो साढे १२ बजेपछि कार्यक्रम हुने भएको छ ।
तारकेश्वर नगर कमिटीले पनि दिउसो साढे १२ बजे नै अगुवा कार्यकर्ता भेला गर्ने तयारी गरेको छ । भेला कान्तिपुरी एबी पार्टी प्यालेस नेपालटारमा हुने तय भएको छ ।
गोकर्णेश्वर नगर कमिटीले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रम गोकर्णेश्वर ब्याङ्क्वेट शिवपुरीचोक अतरखेलमा दिउसो १२ः३० बजे नै हुने भएको छ ।
नेकपाको ओली समूहले बुढानिलकण्ठ नगर कमिटीमा पनि बृहत् कार्यकर्ता भेलाको आयोजना गरेको छ । वास्केटबल ग्राउन्ड गोल्फुटारमा दिउसो १ बजेपछि कार्यक्रम हुने स्थानीय नेताहरुले जानकारी दिएका छन् ।
त्यसैगरी आजै ओली समूहको पेशागत विशेष जिल्ला कमिटीले पनि छुट्टै भेलाको आयोजना गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्की ब्यांक्वेट, बबरमहलमा दिउसो साढे २ बजे बृहत् कार्यकर्ता भेला हुने जनाइएको छ ।