Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
केपी ओलीको कटाक्ष

अछामको केटोदेखि बैज्ञुनी केटोसम्म...

अछामको केटोदेखि बैज्ञुनी केटोसम्म...

  • आइतवार, माघ ४ २०७७

  • 1.3K
    SHARES

  • अछामको केटोदेखि बैज्ञुनी केटोसम्म...

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको आफूविरोधी खेमाका नेताहरुलाई ‘केटो’ भन्दै होच्याउन थाल्नुभएको छ । कुनै नेतालाई ‘सानो केटो’ त कसैलाई ‘बैज्ञुनी केटो’को संज्ञा दिएर होच्याएको भन्दै प्रधानमन्त्री ओलीको आलोचना सुरु भएको छ।

    गत पुष २३ गते धनगढीमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपाका नेता भीम रावललाई ‘अछामको केटो’ भनेर होच्याउनुभएको थियो ।

    लोकतान्त्रिक आन्दोलनका क्रममा आफूलाई जेलमा भेट्न आएको अछामको केटोलाई राजनीति सिकाएको बताउँदै ओलीले अहिले त उसले मान्छे भन्दा ठूलो कुरा गर्न थालेको बताउनुभएको थियो ।

    आफूलाई मामुली केटोको संज्ञा ओलीले नेता रावलमा आक्रोशको सीमा छैन । पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता रावलले केपी ओली र आफ्नो उमेरसँगै राजनीतिक हैसियत पनि बराबर नै रहेको दाबी गर्नुभयो ।

    आफू जेलमा ओलीलाई भेट्न नभई ओलीसँग आन्दोलनका क्रममा सँगसँगै जेल गएको उहाँले बताउनुभयो । त्यतिबेला ओलीको उमेर २३ वर्ष र आफ्नो १९ वर्ष रहेको पनि रावलले बताउनुभयो ।

    भीम रावललाई केटो भनेको केही दिनपछि हिजो प्रधानमन्त्री ओलीले नेता योगेश भट्टराईलाई पनि बैगुनी केटोको संज्ञा दिनुभयो । नेकपा ओली समूहको प्रदेश १ स्तरीय कार्यकर्ता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै ओलीले भट्टराईलाई ‘बैगुनी केटो! पुक्क लात्ताले हानेर भाग्यो’ भन्दै कटाक्ष गर्नुभएको थियो ।

    ओलीले २०७४ सालको निर्वाचनमा ताप्लेजुङमा आयोजित योगेश भट्टराईको चुनावी सभामा सम्बोधन गर्नै उनलाई जनताले जिताएर पठाए आफूले मन्त्री बनाउने प्रतिवद्धता जनाउनुभएको थियो । अहिले बैज्ञुनी केटोको संज्ञा दिए पनि ओलीले उक्त चुनावी सभामा योगेशलाई देशले पत्याएको युवाको संज्ञा दिनुभएको थियो ।

    तर जनताले जिताएर पठाए पनि सुरुवाति मन्त्रिपरिषदमा भट्टराई अटाउनुभएको थिएन । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि भने उहाँको ठाउँमा ओलीले भट्टराईलाई पर्यटनमन्त्री बनाउनुभएको थियो ।

    गत पुष ५ गते प्रधानमन्त्रीले संसद भंगको कदम चालेपछि भट्टराईले राजीनामा दिनुभएको थियो । यसलाई प्रधानमन्त्री ओलीले बैज्ञुनी केटो पुक्क लात्ताले हानेको भागेको रुपमा कटाक्ष गर्नुभएको हो ।

    आफूलाई केटो भनेर सम्बोधन गरेपछि भट्टराईले पनि ओलीलाई जवाफ फर्काउनुभएको छ । उहाँले केटो भनि पाउँदा आफूूलाई दुःख नलागेको तर प्रधानमन्त्रीको स्तर थाहा पाउँदा खुशी लागेको प्रतिक्रिया जनाउनुभएको छ ।

    हुन त केपी शर्मा ओली विपक्षीलाई सम्मान गरेर अभिव्यक्ति दिने चरित्रका नेता होइनन् । तर राजनीतिमा अभिव्यक्तिको पनि एक मर्यादा चाहिन्छ भन्ने कुराको महसुस उहाँलाई अहिलेसम्म पनि भएको पाइएको छैन ।


    आइतवार, माघ ४ २०७७०७:५१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij