काठमाडौँ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । रिट निवेदकहरुले बृहत इजलासमा लैजान माग गरेका थिए ।
तर, यो मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको हो। संवैधानिक इजलासमा संसद् विघटनविरुद्धको रिटमाथिको बहसपछि इजलासले बृहत् पूर्ण इजलास गठनको माग अस्वीकार गरेको हो।
१३ रिट निवेदकमध्ये १२ ले बृहत् पूर्ण इजलासको माग गरेका थिए । तर संवैधानिक इजलासले उक्त माग अस्वीकार गर्दै सोही इजलासले हेर्ने निर्णय गरेको हो।
साथै ती रिट निवेदनमाथि माघ ४ गते आइतबारदेखि निरन्तर सुनुवाइ गर्ने निर्णय भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन्।
बहसका क्रममा सरकारी पक्षले बृहत् पूर्ण इजलासको माग संविधान र कानुनविपरीत रहेको तर्क गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।