काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गमा रहेको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका एकजना प्राध्यापक पक्राउ परेका छन् । आरआर क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्य पक्राउ परेका हुन् ।
आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई सामाजिक सञ्जालमार्फत यौन हिंसा गरेको आरोपमा प्रहरीले उनलाई कलेजबाटै पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहका अनुसार आरआर क्याम्पसमा अध्ययनरत एक छात्रालाई यौन ंिहंसा गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनका अनुसार प्राध्यापक आचार्यले विद्यार्थीलाई फेसबुक मेसेन्जरमार्फत् अश्लिल शब्द प्रयोग गरेका थिए ।
तर, ती प्राध्यापकले छात्रामाथि फेसबुकबाट कसरी यौन हिंसा गर्नसके भन्नेबारे भने प्रहरीले हालसम्म प्रश्टसँग भने खुलाएको छैन । खाली उजुरीकै आधारमा कानुनबमोजिम पक्राउ गरेको देखिन्छ ।
प्राध्यापक आचार्यलाई नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धि कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको एसएसपी सिंहले जानकारी दिनुभयो ।