काठमाडौं । नेकपाको ओली पक्षका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले नेकपाका अर्का नेता माधव नेपाललाई नक्कली अध्यक्षको संज्ञा दिनुभएको छ ।
नेकपाको विधान अनुसार उहाँ पार्टी अध्यक्ष बन्न नमिल्ने भएकाले नेपाल नेकपाको नक्कली अध्यक्ष भएको बास्कोटाको टिप्पणी छ ।
नेकपाको दाहाल–नेपाल पक्षले राजनितिक फन्डा चलाईरहेको आरोप लगाउदै उहाँले चुनावमा प्रतिश्पर्धा गर्न आउन चुनौती दिनुभयो । जनताको मतलाई अपमान गरेर, छलकपट गरेर दाहाल नेपाल समूह टुक्रिएको उहाँको भनाई छ ।
लोकतन्त्र भएको देशमा प्रमुख कार्यकारीको आलोचना हुनु स्वभाविक भएको तर्क गर्दै उहाँले अहिले ओलीको आलोचना भने बढी भएको दावी गर्नुभयो ।
जनताबाट निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि निर्वाचनमा जानु निरङकुशता नभएको उहाँले तर्क गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, “निर्वाचनमा जान्छु भन्ने प्रधानमन्त्रीलाई निरङकुश भन्न मिल्दैन, बरु निर्वाचन नहोस भन्ने र जनतासामु जानु नपरोस भन्नेहरु नै निरंकुश हुन ।”
“चुनावमा जानु निरङकुशता भए लोकतन्त्र चाहिँ के हो ? केपि ओली साढे १४ बर्ष झापा विद्रोहरुपछि जेल कस्का लागी बस्नु भएको ? उहाँले जनताको लागी काम नगरेको भन्न मिल्छ ? देशमा चुनाव नहुने भए सत्ता निर्माण केबाट बन्छ ?” उहाँले प्रश्न गर्नुभयो ।
प्रधानमन्त्री ओली अव निर्वाचनमा जाने र जनताले खटाएको ठाउँमा बस्ने बताउदै उहाँले देशमा भएको मुल समस्याको समाधान निर्वाचनबाटै हुने जिकिर गर्नुभयो ।
राजनीतिक अस्थीरता र अन्यौलता सृजना भइरहेका बेला नेता बास्कोटाले अव देशमा कुनै पनि हालतमा विद्रोह नहुने दावी गर्नुभयो ।