काठमाडौं । हिउँदको चिसो बढेसँगै चराहरुको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न आजदेखि जलपन्छीको गणना सुरु भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको हातेमालोमा गरिने यस गणनाको विश्वव्यापी रुपमा समन्वय वेटल्याण्ड इन्टरनेशनल संस्थाले गरेको छ ।
नेपालमा पुस १८ देखि माघ ५ गतसम्म हुने जलपन्छी गणनामा यस क्षेत्रका विज्ञ, सम्बन्धित संघसंस्थाका प्रतिनिधि, स्थानीय स्वयंसेवीलगायत गरी तीन सयभन्दा बढी जनशक्ति संम्लग्न रहेको बताइएको छ ।
यस वर्ष कोभिड–१९ को संक्रमणका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर गणना गर्न आयोजक संस्थाले आग्रह गरेका छन् ।
सिमसार र आसपासको क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपन्छी भनिन्छ । नेपालमा सयभन्दा बढी प्रजातिका जलपन्छी रहेको र त्यसमध्ये अधिकांश पाहुना चरा रहेको बताइन्छ ।