काठमाडौं । संसद विघटन विरुद्ध नेकपाको दाहाल–नेपाल समुहको जुलुस नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गर्ने केपी ओलीलाई नछाड्ने उद्घोष गर्नुभएको छ ।
यस्तै उहाँले ओली प्रतिक्रान्तिको गोटी बनेको आरोपपनि लगाउनुभएको छ ।
संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले अब आफुहरु लोकतन्त्र र जनताको बीचमा आएकाले प्रतिगमनकारी ओलीसँग लडाइँ जितेको दाबी गर्नुभयो ।
संसद विघटनविरुद्ध निर्मम संघर्ष गर्नु परेपनि तयार रहेको भन्दै उहाँले भोलि नै अर्को चरणको अझैं कडा कार्यक्रमको तयारी गर्दै गरेको जानकारी गराउनुभयो ।
यस्तै प्रचण्डले प्रधानमन्त्री वा अरु भ्रममा नबस्न र आफुहरु अन्तिम समयसम्म लड्ने बताउनुभयो । यस्तै उहाँले वैशाखपछि ओली प्रधानमन्त्री नरहने दाबीपनि गर्नुभएको छ ।
ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उहाँले भ्रममा नपर्न आग्रह गर्नुभएको हो प्रचण्डले ओली निरंकुश तानाशाह बनेको आरोप समेत लगाउनुभएको छ ।ओलीले एक सालदेखि पार्टी फुटाउने र लोकतन्त्रमाथि प्रहार गर्न खोजेको उहाँको भनाइ छअहिलेसंसद भंग गरेर देशलाई भड्खालो हाल्न चाहेको प्रचण्डको आरोप छ ।
यस्तै उहाँले ओलीले प्रतिनिधिसभा विघटन गरेर कलंकको टीका लगाएको बताउनुभएको छ ।
अर्का अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई सच्चिनका लागि अन्तिम मौका रहेको बताउनुभएको छ ।पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको उहाँले बताउनुभयो ।
पार्टीका कतिपय नेतालाई पनि ओलीलाई सुधार्न सकिन्छ कि भन्ने लागेको उहाँले उल्लेख गर्नुभएको छ ।
यता वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीको प्रतिगामी कदमका कारण आफूहरु सडकमा आउन बाध्य भएको बताउनुभएको छ ।उहाँले ओलीजस्ता तानाशाहले संविधान र लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाउनुभएको छ ।
यसैबिच उक्त समूहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री ओली तानाशाह बनेको भन्दै उनको शासन छिट्टै ढल्ने बताउनुभएको छ ।उहाँले गणतन्त्रको प्रधानमन्त्री बनाइए पनि ओली निरङ्कुश शासक बनेको उहाँले आरोप लगाउनुभयो ।
शाक्यले कूप्रचारमा नअल्मलिइकन संकल्पका साथ संघर्षमा अगाडि बढ्न आग्रह समेत गर्नुभएको छ ।
यस्तै उक्त समूहले दोस्रो चरणका कार्यक्रम पुस १५ गते घोषणा गर्ने भएको छ । संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध नेकपाले दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय गर्न भोलि नै उपलव्ध स्थायी समितिका सदस्यहरुको बैठक बोलाएको छ । प्रवक्ता योगेश भट्टराईले १२ बजे स्थायी समिति सदस्य बैठक बसेर भावी आन्दोलनका कार्यक्रमबारे छलफल गर्ने र ३ बजे कार्यक्रम घोषणा गर्ने जानकारी दिनुभयो ।
नेकपाले ओलीका कदमबिरुद्ध थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।