काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ । पछिल्लो राजनीति घटनाक्रममाथि संस्थागत धारणा बनाउन बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चालिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमविरुद्ध रणनीतिक दृष्टिकोण तय गर्ने मुख्य एजेन्डा रहेको छ ।
संसद् विघटनको सिफारिसपछि उत्पन्न संवैधानिक संकटमाथि बैठक केन्द्रीत हुनेछ । यस्तै सोमबार साँझ काँग्रेसको अग्रसरतामा सानेपामा बसेको तीन दलको बैठकले ओलीको कदमविरुद्ध आ–आफ्नो केन्द्रीय समिति बैठकबाट पार्टीगत दृष्टिकोण बनाउने निर्णय गरेका थिए ।
त्यसपछि फेरि तीन दलको बैठक बसेर प्रतिनिधिसभा विघटनविरुद्ध तत्काल सर्वोच्च अदालतमा सामूहिक रिट दिने र साझा कार्यक्रमका साथ सडक संघर्षमा जाने विषयमा छलफल भएको थियो ।
काँग्रेस, नेकपा र जनता समाजवादी पार्टीका नेताहरूले मंगलबार बस्ने केन्द्रीय समिति बैठकबाट थप संघर्षका कार्यक्रम ल्याउने सहमति गरेका थिए ।
यसैबीच, काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेविसंघ र तरुण दललाई पूर्णता दिन माग गर्दै प्रदर्शन शुरु भएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठक शुरु हुनैलाग्दा नेविसंघ र तरुण दलका नेता कार्यकर्ताले पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन प्रदर्शन गरेका हुन् ।
नेविसंघमा हाल १० जना र तरुण दलमा ४ जनाको केन्द्रीय समिति छ । उनीहरुलाई पनि महाधिवेशन गर्नका लागि दिइएको समय सकिइसकेको छ । तर, समितिले पूर्णता पाएको छ ।
नेविसंका पूर्वकेन्द्रीय सदस्य लिलावल्लभ दाहाल, मनहरि श्रेष्ठ, शकरदेव क्याम्पसका पूर्वस्ववियु सभापतिसहितका नेता ब्यानर र प्लेकार्डसहित प्रदर्शनमा छन् ।
नेविसंघमा नैनसिंह महरलाई हटाएर कांग्रेसले राजीव ढुंगाना र तरुण दलमा जीतजंग बस्नेतलाई अध्यक्ष बनाइएको थियो ।
दुवै सभापति शेरबहादुर निकटका हुन् । नेविसंघ र तरुण दल दुवैमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला गुटले भागवण्डाका आधारमा गठन गरेका थिए ।