काठमाडौं । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा आलीले संसद् विघटन गर्न सिफारिस गरेकोलाई ‘संविधानमाथिको कु’को संज्ञा दिनुभएको छ । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उहाँले यो कुनै पनि हालतमा मान्य नहुने बताउनुभएको छ ।
‘प्रधानमन्त्री ओलीको कदम संविधानमाथिको कु हो । यो कुनै पनि हालतमा स्वीकार्य छैन’, उहाँले भन्नुभयो, ‘यसको मुख्य दोषी प्रधानमन्त्री नै हो । र, यसलाई जसले सदर गर्छ उ पनि दोषी हो ।’
प्रधानमन्त्रीको कदमलाई लिएर अहिले आकस्मिक पार्टीमा छलफल भइरहेको नेता महतोले जानकारी दिनुभयो ।
आज संघीय मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने प्रस्ताव गरेको थियो । बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिनुुभयो ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गर्नुुभएको हो । उक्त सिफारिस लिएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालयगइसक्नुभएको छ ।