काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशैभरी सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ । यसैक्रममा काठमाडौंमा पनि विरोध प्रदर्शन सुरु भएको छ । अहिले कांग्रेसका नेता तथा कार्यकर्ताहरु रत्नपार्कस्थित शान्ति बाटिकामा जम्मा भएर विरोध ¥याली सुरु गरेका छन् ।
¥याली बागबजार, पुलतीसडक, प्रदशर्नीमार्ग, सुन्धाराहुँदै पुनः रत्नपार्कस्थित शान्ति बाटिकामा पुगेर कोणसभामा परिणत भएको छ । भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा ७७ वटै जिल्लामा प्रदर्शन सुरु गरेको कांग्रेसले जनाएको छ ।
यसैबीच, सभापति देउवाले सरकारविरोधी आन्दोलनलाई सांकेतिक प्रदर्शन भन्दै सरकारविरुद्धको आन्दोलनको सुरुवात भएको बताउनुभएको छ ।
देशव्यापी प्रदर्शनलाई सम्बोधन गर्न प्रमुख प्रतिपक्ष कांग्रेसका नेताहरू जिल्लातिर खटिएका छन् ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार सभापति शेरबहादुर देउवा मकवानपुर र वरिष्ठ नेता पौडेलले काठमाडौंमा सम्बोधन गर्नुहुनेछ ।
उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री शशांक कोइराला मोरङ, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, सहमहामन्त्री डा. प्रकाशशरण महत झापामा खटिनुभएको छ ।
पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह धनुषा र कृष्णप्रसाद सिटौला महोत्तरी, पूर्वसहमहामन्त्री रामशरण महत चितवन र अर्जुननरसिंह केसी कास्की, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव सप्तरी र सहमहामन्त्री सुनीलबहादुर थापा धनकुटा गएका छन् ।
महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयबाट देशभरका कार्यक्रमको समन्वय गरिरहेका छन् ।
साथै, गगन थापा कैलाली र प्रदीप पौडल कञ्चनपुर पुग्नुभएको छ ।