Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकारविरोधी प्रदर्शनका लागि कांग्रेस नेता जिल्लातिर, सभापति देउवाको यस्तो आग्रह (विज्ञप्तिसहित)

सरकारविरोधी प्रदर्शनका लागि कांग्रेस नेता जिल्लातिर, सभापति देउवाको यस्तो आग्रह (विज्ञप्तिसहित)

  • आइतवार, मंसिर २८ २०७७

  • 1.1K
    SHARES

  • सरकारविरोधी प्रदर्शनका लागि कांग्रेस नेता जिल्लातिर, सभापति देउवाको यस्तो आग्रह (विज्ञप्तिसहित)

    काठमाडौं । सरकारका बेथिति र तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई गरिएको गिरफ्तारीको विरोधमा सोमबार हन लागेको देशव्यापी प्रदर्शनलाई सम्बोधन गर्न प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरू जिल्लातिर खटिएका छन् । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीलाई केन्द्रबाटै खटाइएको हो भने केन्द्रीय सदस्यहरू जिल्ला सभापतिको आमन्त्रणमा जाने भएका हुन् ।

    पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलका अनुसार सभापति शेरबहादुर देउवा मकवानपुर र वरिष्ठ नेता पौडेलले काठमाडौंमा सम्बोधन गर्नुहुनेछ ।

    उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री शशांक कोइराला मोरङ, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, सहमहामन्त्री डा. प्रकाशशरण महत झापामा खटिनुभएको छ । पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्रीहरू प्रकाशमान सिंह धनुषा र कृष्णप्रसाद सिटौला महोत्तरी, पूर्वसहमहामन्त्री रामशरण महत चितवन र अर्जुननरसिंह केसी कास्की, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव सप्तरी र सहमहामन्त्री सुनीलबहादुर थापा धनकुटा जाँदै हुनुहुन्छ ।

    महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी केन्द्रीय कार्यालयबाट देशभरका कार्यक्रमको समन्वय गर्नेछन् ।

    यसैबीच, कांग्रेसले सोमबारदेखि देशभर गर्न लागेको सरकार विरोधी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दूरी राख्दै उपस्थित हुन अपिल गरेको छ । सभापति शेरबहादुर देउवाले आज एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गर्नुभएको हो ।

    ‘देशब्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दुरी कायम राख्दै शान्तिपूर्ण सहभागीताका लागि अपिल गर्दछु’, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ’, ‘सरकारको खराब प्रवृतिका कारण जनतामा वितृष्णा पलाएको र त्यसको विरोधमा कांग्रेसले गर्न लागेको आन्दोलन महत्वपूर्ण हुने विश्वास छ ।’

    प्रमुख प्रतिपक्षीका रूपमा कांग्रेसले निरन्तर शालिन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आएको, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको तथा अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै आएको कांग्रेसका आरोप छ ।

    त्यस्तै जनताको वितृष्णालाई सम्बोधन गर्न कांग्रेसले सडकदेखि सदनसम्म सरकारलाई दवाव दिन लागेको सोमबारको आन्दोलन शुरुवात भएकोसमेत सभापति देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    यस्तो छ देउवाद्वारा जारी विज्ञप्ति :

    देशब्यापी प्रदर्शनमा उत्साह र एकतासाथ भौतिक दूरी राख्दै शान्तिपूर्ण सहभागीताका लागि अपिल !

    भोलि मंसिर २९ गते नेपाली कांग्रेसले ७७ वटै जिल्लामा एकसाथ गर्न लागेको प्रदर्शन विशेष रुपले महत्वपूर्ण छ । यसमा सक्रिय सहभागीताका लागि म नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरु संगै सबै लोकतन्त्रवादीमा हार्दिक अपील गर्दछु ।

    प्रतिपक्षका रूपमा नेपाली कांग्रेसले निरन्तर सालिन, संवाद मैत्री र जिम्मेवार भूमिका निभाउंदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता ग(यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफुलाई केन्द्रित गर्दै लग्यो । यस्तो प्रवृत्तिको परिणाममा नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ । सरकारप्रतिको वितृष्णा मुलत अहिलेको अवस्थाप्रतिको वितृष्णा हो । नेपाली जनताले लामो संघर्षबाट स्थापित गरेको संघीय, लोकतान्त्रिक गणतन्त्र मार्फत सार्थक परिणामको अपेक्षा जनताले राख्नु जनताको स्वभाविक हक हो । अतः नेपाली कांग्रेसले सडक देखि संसदसम्म अब सरकारलाई तिब्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर शसक्त ढंगले अघि बढ्नुछ । त्यसकै शुरूवात हो भोलिको सांकेतिक प्रदर्शन ।

    प्रदर्शनको तयारीमा जुट्नुभएका सबै तहका साथीहरूलाई थप जागरुकता र एकता साथ प्रदर्शनलाई भब्य, ब्यवस्थित र शान्तिपूर्ण बनाउन म अपील गर्दछु । कोरोना महामारीको यो समयमा प्रदर्शनमा भौतिक दुरि राख्न तथा मास्क प्रयोग गर्न गराउन प्रभावकारी स्वयंसेवाका लागि म तरुण साथीहरुलाई आग्रह गर्दछु । जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ सामग्रीमा समेत भ्रष्टाचार भएको घटना भन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुनसक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकहरु मार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ? महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुंदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफ भन्दा गैह्र जिम्मेवार जवाफ के हुनसक्छ ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं बिद्यार्थीको भविष्य अन्यौलमा पर्दा सरकारसंग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शुन्यता के हुन सक्दछ ? तनहुँको पछिल्लो घटना होस् या देशका कैयन भागमा भएका उत्पीडन, दमन र विभेदका घटना हरेक नेपाली गम्भीर हुन जरुरी छ । ट्रान्सपरेन्सी ईन्टरनेसनलको पछिल्लो प्रतिवेदनले एसियामै सबैभन्दा बढी भ्रष्टाचार भइरहेको देशका रूपमा नेपाललाई चित्रित गर्दा हरेक नेपालीलाई लज्जित तुल्याएको छ ।

    कोरोनाबाट जनताको रक्षा गर्ने गम्भीर दृष्टि र सुविचारित कार्ययोजना नहुंदा सयौंको मृत्यु भएको छ भने हरेक नेपालीले मृत्युको सन्त्रास भोग्नु परेको छ । कोरोनाकालिन नीति, दृष्टिकोण र ठोस कार्यक्रम नहुंदा मुलुकको अर्थतन्त्र झनै कमजोर बन्न पुगेको छ । चौतर्फी संकटबाट मुलुकलाई निकासको मार्गमा लग्न गम्भीर भएर कार्य गर्नुपर्ने सरकार सत्ताको द्वन्द्वमा जकडिएको छ । यस्तो परिदृश्यमा जनतामा प्रश्न, आक्रोश र वितृष्णा बढ्नु विल्कुलै स्वभाविक छ । कोरोनाका कारण उपचार नपाएर आफन्तको मृत्यु भोगेको परिवार । बढ्दो महिला हिंसा र बलात्कारका घटनाले आक्रान्त भएको समाज । खेतिको बेला मल नपाएर छट्पटिएको किसान । लक डाउनका बेला भोकका कारण सयौं किलोमीटर पैदल हिंडेर गाउँ फर्किएको श्रमिक । ब्यापार ठप्प हुंदापनि राहत पुग्ने ढंगले कर छुट नपाएका, टाट पल्टिएका र आर्थिक चुनौती ब्यहोरिरहेका साना ब्यवसायी देखि ठुला उधोगीसम्म । रोजगारी गुमाएको अनि रोजगारी पाउने सुदुर संभावना नदेखिरहेको युवा ।

    शिक्षक, कर्मचारी, अपांगता भएका नागरिक, एकल महिला देखि बुद्धिजीवीसम्म हरेकले यो घडी पीडा भोगिरहेका छन्, प्रश्न बोकि रहेका छन् र आक्रोश पोखिरहेका छन् । यी सबैको पिडा, भावना र आवाजलाई गहिरो आत्मसात गर्न सरकार सम्पूर्ण रुपले असफल भएको छ । नेपाली जनताको हरेक क्षेत्र, बर्ग एवं समुदायको पीडा र भावनालाई अब नेपाली कांग्रेसले अझ प्रखर ढंगले मुखरित र नेतृत्व गर्नेछ । मुलुकलाई हरेक चुनौतीको घडिमा निकास र नेतृत्व दिएको दल हो नेपाली कांग्रेस । आज प्रतिपक्षमा रहेको समयमा पनि जिम्मेवारपूर्ण ब्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहीतामा कांग्रेस गम्भीर छ । भोलिको सांकेतिक प्रदर्शनबाट थप शक्ति हासिल गर्दै आगामी संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुनेछ । भोलिको प्रदर्शनमा एकता, जांगर र नवीन उत्साह साथ सहभागी हुन म नेपाली कांग्रेसका सदस्य, समर्थक र शुभचिन्तकहरुसंगै समस्त लोकतन्त्रवादीमा फेरिपनि हार्दिक अपील गर्दछु ।

    जय नेपाल !

    शेरबहादुर देउवा

    सभापति


    आइतवार, मंसिर २८ २०७७११:२५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij