काठमाडौं । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको छ । आज घोषणा भएअनुसार सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर पुगेको छ । सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको हो ।
भर्चुअल घोषणा कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीले संयुक्तरुपमा सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् ।नेपाल र चीनको संयुक्त टोलीले सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरेको हो ।
सन् २०१९ मा चिनका राष्ट्रपती सी चिङपिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्तरुपमा घोषणा गर्ने सहमति भएको थियो । सोही बमोजिम नेपाल र चीनका सरकारी टोलीले संयुक्तरुपमा काम गरेका थिए ।यसअघि विभिन्न देशहरुले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए ।
पछिल्लो पटक सर्भे अफ इन्डियाले सन् १९५४ मा मापन गरी उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर मानिँदै आएको थियो ।