Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसमा अबको नेत्तृत्व को ? फेरि देउवा कि निधि ?

कांग्रेसमा अबको नेत्तृत्व को ? फेरि देउवा कि निधि ?

  • बजरंग नेपाली
  • सोमवार, मंसिर २२ २०७७

  • 2.1K
    SHARES

  • कांग्रेसमा अबको नेत्तृत्व को ? फेरि देउवा कि निधि ?

    नेपाली कांग्रेसको १४औं महाधिवेशनलाई आन्तरिक विवादभन्दा पनि मूलतः कोभिड –१९ ले नै प्रभावित गरेको हो । यस्तो अवस्थामा महाधिवेशनमा कसरी जाने वा नजाने भन्ने विषयमा नेताहरु अलि द्विविधाग्रस्त नै देखिन्छन्् । आन्तरिक कुरा भन्नुपर्दा कतिपय जिल्लाहरुमा समायोजन पनि भएको छैन । महाधिवेशनका सम्पूर्ण विषय अवरुद्ध हुने कारण कोभिड नै हो । अस्ति केन्द्रीय समितिको बैठकबाट द्विविधाग्रस्त अवस्थामा भए पनि फेरि नयाँ क्यालेन्डर आएको छ । सो क्यालेन्डरमा हामीले मंसिरभित्र क्रियाशील सदस्यताको काम अगाडि बढाउनुपर्छ । पहाड र हिमालका जिल्लाहरुमा अहिले चिसो बढेको छ र तराई–मधेशका जिल्लाहरुमा पनि आफ्नै किसिमका समस्याहरु भएको हुनाले प्रयास भइरहेको छ, अब कतिसम्म सफल हुन्छ हेर्न भने बाँकी छ ।

    कोभिड रहेसम्म कांग्रेसको महाधिवेशन सम्पन्न हुने अवस्था छैन भन्ने होइन । यसभित्र थुप्रै कुराहरु छन् । हाम्रो छिमेकी राष्ट्र भारतकै उदाहरण हेर्ने हो भने कोभिडकै सन्त्रासको बीचमा त्यहाँको सरकारले बिहारमा निर्वाचन त गराएकै हो । अमेरिका जस्तो देश जहाँ कोभिडको आतंक छ, त्यहाँ पनि समयमै निर्वाचन भयो । त्यसकारणले सरकारको समस्याले गर्दा पनि ढिलाइ भइरहेको छ । पार्टीले पनि आफ्नो स्पष्ट धारणा बनाउनुपर्छ । हामीले धेरै ढिलो पनि गर्नु हुँदैन । किनभने वैधानिक समस्या पनि छ, संवैधानिक संकट पनि आउन सक्छ । महाधिवेशनका लागि आगामी वर्षको भदौसम्म अन्तिम म्याद हो । त्यसले गर्दा हामीले समयमै महाअधिवेशन गर्नुपर्छ ।

    केन्द्रीय समितिले त यसै वर्षको फागुनमै महाधिवेशन गर्ने भनेर ठोस निर्णय नै गरेको हो तर हाम्रो जुन क्यालेन्डर छ त्यसलाई व्यवस्थित गर्ने कुरामा छलफल भइरहेको छ । फागुनमै भएन भने एक–दुई महिना सारेर क्यालेन्डरलाई व्यवस्थित गर्ने कुरा हुन्छ । अर्को विकल्पै छैन हामीसँग । कोभिड रहे पनि वा नरहे पनि हामीले समयसीमाभित्र महाधिवेशन गर्नैपर्ने हो । कोेभिडको मामलामा केपी ओलीको सरकार अत्यन्त उदासीन, गैरजिम्मेवार रहेकोले यो अवस्था सिर्जना भएको हो ।

    अब कुरा गरौं प्रदेश –२ मा हाम्रो महाधिवेशनको अवस्थाबारे । लकडाउनको अवधिमा प्रदेश २ को प्रायः जिल्लाहरुमा समायोजनको काम रोकिएको थियो । त्यो समायोजनको काम नहुने कारण पनि कोभिड नै हो । हाम्रा आन्तरिक केही समस्याहरु पनि हुन् । तर जिल्लाहरुबाट लगभग सबै पठाइसकेका छौं । कोभिडले गर्दा निर्वाचन समितिका पदाधिकारीहरु बस्न सक्नुभएको छैन । तर पनि प्रदेश –२ का दुई वा तीनवटा जिल्लामा मात्रै समायोजनको काम सम्पन्न हुन बाँकी छ । तर फागुनमै महाधिवेशन हुन्छ भन्ने कुरामा कोही पनि ढुक्क छैनन् ।
    कांग्रेसमा आगामि महाधिवेशनबाट कस्तो नेतृत्व आउने भन्ने कुराको निर्णय देशैभरिका प्रतिनिधिहरुले गर्ने हो । किनभने महाधिवेशनको कस्तो माहौल निर्माण हुन्छ, कस्ता व्यक्तिहरु उम्मेदवार बन्नुहुन्छ त्यसको निष्कर्ष महाधिवेशनले गर्ने हो । १३औं महाधिवेशनमा पनि युवा पुस्ताका साथीहरुलाई जोड्ने प्रयास महाधिवेशनले गरेकै हो । हामी पनि चाहन्छौं कि यो महाधिवेशनबाट नयाँ अनुहारहरु आऊन्, युवा नेतृत्व आऊन् । नयाँ अनुहार भनेको नेपाली कांग्रेसलाई हाँक्न सक्ने सक्षम र योग्य व्यक्तिहरु हुन्, चाहे त्यो पूराना पुस्ता हुन् वा नयाँ पुस्ताका ।

    कांग्रेसको सभापतिका लागि विमलेन्द्र निधिको सम्भावना कति छ भनेर त म भन्न सक्दिँन वा अहिलेका वर्तमान सभापतिजीले के गर्नु हुन्छ त्यो उहाँको क्षेत्राधिकारको कुरा हो । तर, निधिजी अहिले उपसभापति पनि हुनुहुन्छ । उहाले उम्मेदवारी दर्ज गर्नुभएको छ, त्यसलाई पार्टीभित्र अत्यन्त सकारात्मकरुपमा बहस चलिरहेको छ । उहाँ योग्य र सक्षम व्यक्तित्व नै हुनुहुन्छ । कांग्रेसमा स्थायी ध्रुवीकरण भइरहेको छ । तर सबै कुराको निधो त महाधिवेशनले नै गर्ने हो । महाधिवेशनका साथीहरुले विमलजीलाई साथ दिन्छन् कि अन्यलाई यो समयले बताउँला । तर विमलको उम्मेदवारीलाई सबैले सकारात्मकरुपले बहस गरिरहेका छन् ।

    सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिको पार्टीमा लामो इतिहास पनि छ । पार्टीभित्र नेपाल विद्यार्थी संघको सक्रिय नेतृत्वदायी भूमिकाबाट उहाँहरु यतिसम्म आउनुभएको छ । अहिलेसम्म हामीले बुझ्दा उहाँहरुको बीचमा पार्टीको गाह्रो–साह्रो अवस्थामा एकै ठाउँमा उठ–बस हुने, एकअर्कालाई स्वीकार गर्ने, सरसल्लाहले अगाडि बढ्ने हामीले हेर्दैछौं । अब सभापतिजीले के गर्नुहुन्छ भन्न सकिन्नँ । विमलेन्द्रजीले सभापतिजीलाई आग्रहसमेत गर्नुभएको छ । अब उहाँहरु के गर्नुहुन्छ त्यो म भन्न सक्दिँन । तर उहाँहरु एकै ठाउँमा बसेर धेरै समय बिताउनुभएको छ । अब हेरौं उहाँहरु कसरी अगाडि बढ्नुहुन्छ ।

    विमलेन्द्र निधिलाई सभापति देउवाले सघाउनु हुन्छ होला । सभापतिमा थुप्रै जनाको उम्मेदवारी छ । तर विमलेन्द्रको उम्मेद्वारीले पार्टीभित्र एउटा नयाँ ध्रुवीकरणको परिस्थिति निर्माण गर्दैछ । पार्टीको आन्तरिक ध्रुवीकरणमा कुनै बेला केपी (कृष्णप्रसाद) भट्टराई र गिरिजाप्रसाद कोइरालाको कुरा आउँथ्यो, यता आएर जसरी शेरबहादुर देउवा, गिरिजाप्रसाद कोइरालाको आयो, पछि वरिष्ठ नेता रामचन्द्र पौडेल र देउवाजीको कुरा आयो । यी सबै कालखण्डमा निधिजी र देउवाजी एउटै ठाउँमा देखिनुभयो । तर अहिले शेरबहादुरजीले आफ्नो उम्मेदवारी कायम राख्नुभएको छ र त्यहीं खेमाबाट विमलेन्द्रजीले आफ्नो उम्मेद्वारीको घोषणा गर्नुभएको छ । त्यसले गर्दा पार्टीमा एउटा नयाँ किसिमको ध्रुवीकरण बन्ने सम्भावना देखिँदैछ । त्यसो त अन्य उम्मेदवार पनि हुनुहुन्छ ।

    जनताले पाँच वर्षका लागि नेकपालाई जनादेश दिइसकेको छ र कांग्रेसलाई प्रतिपक्षमा बस भनेर जनादेश छ । त्यसले गर्दा अहिले नेकपाका नेताहरु ठूलो गैरजिम्मेवारीपूर्ण कामहरु गर्दै हुनुहुन्छ । किनभने नेपालमा राजनीतिक स्थिरता र शान्ति हुनुपर्छ । स्थिरता हुँदैन भने देशले आर्थिक विकास गर्दैन, आर्थिक समृद्धि आउँदैन । नेपाल कम्युनिष्ट पार्टीका प्रधानमन्त्री ओली र प्रचण्डबीच जुन द्वन्द्व चलिरहेको छ, त्यसले देशमा एउटा नयाँ अवस्था सिर्जना गर्न सक्छ । त्यसले गर्दा जनादेशविपरीत काम कतैबाट पनि हुनुहुँदैन । कांग्रेस यस मामलामा एकदम प्रष्ट छ । जनताले नेकपालाई ६ वटा प्रदेश र देश चलाउन संघमा दुई तिहाइ नजिकको जनमत दिएको छ । त्यसलाई नेकपाका नेताहरुले कदर गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो । प्रतिपक्षी दलका नेता र सत्तापक्षका नेताहरुबीच भेटघाटका कुराहरु भइरहन्छ ।

    (मधेश दर्पण फिचर सेवा)

    bajarang nepali.jpg

    बजरंग नेपाली


    सोमवार, मंसिर २२ २०७७०१:४१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij