काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का अध्यक्ष दीपक धामीले सरकारले विद्यार्थी संगठनहरू खारेज गरेर लोकतन्त्रको घाँटी निमोठ्न खोजेको बताएका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार खेम बमसँग कुराकानी गर्दै धामीले सरकारको यस्तो तयारी विद्यार्थीहरूको मौलिक हक र आवाजलाई पूर्ण रूपमा दबाउने निरंकुश प्रयास भएको उनको आरोप छ ।अध्यक्ष धामीले विद्यार्थी आन्दोलनको ऐतिहासिक गरिमालाई गलत व्याख्या गरेर प्रहार गर्न खोजिएको उल्लेख गरे । प्रधानमन्त्रीको स्वेच्छाचारी र तानाशाही प्रवृत्तिका कारण देश गम्भीर संकटतर्फ धकेलिएको टिप्पणी गर्दै उनले यस्ता सनकी निर्णयहरू स्वयम् सरकार र प्रधानमन्त्रीका लागिसमेत आत्मघाती र प्रत्युत्पादक बन्न सक्ने चेतावनी दिएका छन् ।
सचेत नागरिकले देश र समाजको विषयमा विश्लेषण गर्न पाउने तथा आफ्ना विचारहरू स्वतन्त्र रूपमा कडा रूपमा राख्न पाउने संवैधानिक अधिकारमाथि बन्देज लगाउनु पूर्ण रूपमा गैरकानुनी भएको उनको भनाइ छ ।आफ्ना गल्ती र कमजोरी लुकाउन सरकार चलाउने अनि त्यसको विरोधमा उठ्ने न्यायपूर्ण आवाजलाई दबाउन खोज्नु कुनै पनि हालतमा जायज नहुने उनले स्पष्ट पारे। अनेरास्ववियुले सरकारको यस अधिनायकवादी कदमका विरुद्ध सडक संघर्ष र कानुनी प्रक्रिया दुवै माध्यमबाट सशक्त र कठोर रूपमा प्रतिकार गर्ने घोषणा गरेको छ ।