काठमाडौं । ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सांसद डा. धनञ्जय रेग्मीले दलको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन व्यवस्थापकीय कमजोरी तथा प्राविधिक जटिलताका कारण लम्बिन पुगेको खुलासा गर्नुभएको छ ।नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुराकानी गर्दै सांसद रेग्मीले सोचेभन्दा अत्यधिक संख्यामा प्रतिनिधिहरूको उपस्थिति हुनु र आन्तरिक व्यवस्थापन चुस्त हुन नसक्दा महाधिवेशन निर्धारित समयभन्दा बढी लम्बिएको बताउनुभयो । पार्टी स्थापनाको छोटो अवधिमा पहिलोपटक यस किसिमको ठूलो महाधिवेशन आयोजना गरिएको हुनाले आन्तरिक तयारी र व्यवस्थापनमा केही त्रुटीहरू देखिएको उहाँले स्वीकार गर्नुभयो । सांसद रेग्मीले भन्नुभयो, “पहिलो अनुभव भएकाले अहिले केही प्राविधिक र व्यवस्थापकीय कमजोरीहरू अवश्य भएका छन् । तर, यो कमजोरीले हाम्रो दललाई आगामी दिनमा ठूला राष्ट्रिय कार्यक्रमहरू थप व्यवस्थित र परिपक्व ढंगले सञ्चालन गर्न महत्त्वपूर्ण पाठ र नयाँ अनुभव सिकाएको छ ।“चितवनको भरतपुरमा जारी रास्वपाको यस महाधिवेशनमा प्रतिनिधिहरूको बाक्लो उपस्थितिका बीच प्राविधिक समस्या र बन्द सत्रको ढिलाइले गर्दा निर्वाचन कार्यतालिका प्रभावित भई महाधिवेशन लम्बिन पुगेको हो । पार्टीले यस अनुभवलाई आगामी दिनका लागि मार्गदर्शक मान्दै सांगठनिक संरचनालाई थप सुदृढ बनाउने दाबी गरेको उहाँको भनाई छ ।